काठमाडौं – ललितपुरको गोदावरीमा भएको महासमितिको बैठकमा महामन्त्री गगनकुमार थापाले गरेको गठबन्धन नगरी एक्लै चुनाव लड्ने प्रस्ताव महासमिति बैठकबाट पारित भएको छ ।
महामन्त्री थापाले चुनावमा कांग्रेसले गठबन्धन नगरी एक्लै लड्ने गरी सांगठनिक पेश गरेका प्रस्ताव बिहीबार महासमिति बैठकबाट पारित भएको हो ।
‘पार्टीका सदस्यहरू, शुभेच्छुक तथा समर्थक र आम नागरिकलाई पूर्ण विश्वास दिलाउँदै, दृढ संकल्प गर्छ- हामी भविष्यमा हुने आवधिक निर्वाचनहरू आफ्नै ताकतमा एक्लै लड्ने छौं र हाम्रो मतदातालाई नेपाली कांग्रेसको चुनाव चिह्न ‘रूख’ मा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नेछौं,’ उनको प्रस्तावमा उल्लेख गरिएको छ, ‘हाम्रो आफ्नै संगठनलाई थप ऊर्जाशील बनाउँदै आम जनताको मत र विश्वास बढाएर नेपाली कांग्रेसले एक्लै बहुमत ल्याउन सक्ने पार्टीका रूपमा पुन:स्थापित गर्नेछौं ।’
बैठकमा सभापति शेरबहादुर देउवा पक्षका कतिपय महासमिति सदस्यले गठबन्धन रणनीति विषय भएको तर्क गरेका थिए । त्यसैले अहिले नै निर्णय गर्न नहुने बताएका थिए । तैपनि उक्त प्रस्ताव सर्वसम्मतले पारित भएको हो ।
महामन्त्री गगन थापाले निर्णायार्थ पेश गर्दा कसैले विरोध गरेका थिएनन् । महासमिति सदस्यहरूले ताली बजाएर पारित गरेका थिए । त्यस्तै महासमिति बैठकले अन्य प्रस्तावहरू पनि पारित गरेको छ ।
अब ती प्रस्तावहरू केन्द्रीय समितिले अनुमोदन गर्नका लागि पठाइनेछ ।