अपहरणको आरोप लागेपछि पत्रकार सम्मेलन गर्दै बोले गणेश लामा !

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य गणेश लामाले ज्ञानेन्द्र खड्काले आफूमाथि लगाएको आरोपमा कुनै सत्यता नरहेको दाबी गरेका छन् ।

खड्काले आफूलाई लामा लगायतले अपहरण गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएको जानकारी सहितको विज्ञप्ति जारी गरेपछि लामाले पनि पत्रकार सम्मेलनमार्फत यस्तो दाबी गरेका हुन् ।

तर,  लामाले विवाद जग्गा कारोबारसँग सम्बन्धित रहेको बताए । ज्ञानेन्द्रले ‘यो जग्गा मलाई पास गरिदिनुस्, ३ महिनापछि पैसा दिन्छु’ भनेपछि आफूले २०७१ असोज ३० गते ज्ञानेन्द्रकी श्रीमती नानीमैयाँ कार्कीको नाममा जग्गा पास गरिदिएको लामाले बताए ।

जग्गा पास गरेको ९/१० वर्षसम्म पनि ज्ञानेन्द्र त्यसपछि सम्पर्कविहीन बनेर बसेको उनको भनाइ छ । डेढ/दुई महिना अगाडि ज्ञानेन्द्रसँग जम्काभेट हुँदा उनैले जग्गाको पैसा दिन्छु भनेर छिनोफानो गरी कागज गरिएको नेता लामाको दाबी छ ।

उक्त जग्गा अहिले पनि ज्ञानेन्द्रकी श्रीमतीको नाममा रहेको उनले बताए । उक्त विषयमा अहिले छानबिन भइरहेको बताउँदै नेता लामाले दोषी ठहरिए आफू कानूनबमोजिमको सजाय भोग्न तयार रहेको बताए ।

‘डेढ÷दुई महिना अगाडि ज्ञानेन्द्रसँग जम्काभेट हुँदा उनैले जग्गाको पैसा दिन्छु भनेर छिनोफानो गरी कागज गरिदिएका थिए’, उनले भनेका छन्, ‘उहाँलाई त्यहाँ भेट्दाखेरी उहाँ आफैंले दाई तपाईँको पैसा दिन्छु भनेर छिनोफानो गर्नुभएको हो । अहिले पनि आनाको ५० लाख जाने ४० आना जग्गा उहाँको श्रीमतीको नाममा पास छ । त्यही जग्गाको बारेमा उहाँसँग कागज गरिएको हो । कानुनबमोजिम वडामा उहाँ आफैं गएर कागज गर्नुभएको छ ।’

ज्ञानेन्द्रले भने आफूलाई बन्धक बनाएर मोबाइल र ल्यापटप कब्जा गरेको र क्रिप्टो ट्रान्सफर गर्न भनेको बताएका छन् । तर, नभेटेपछि कागज गराएको ज्ञानेन्द्रको भनाइ छ ।

ज्ञानेन्द्र र आफूले विगतमा साझेदारी व्यवसायसमेत गरेको उनले खुलासा गरे । आफ्नी श्रीमती र ज्ञानेन्द्रकी श्रीमतीको नाममा दर्ता कायम रहेको ट्राभल कम्पनी अहिले पनि रहेको उनको दाबी छ ।

०७१ सालमा आनाका २५ लाखका दरले धुलिखेल चोकको जग्गा आफूले पास गरिदिएको उनले बताए । पैसा नतिर्ने नियतले आफूमाथि अपहरणको आरोप लगाइएको हुनसक्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...