काठमाडौँ – नेपालले क्यानडा विरूद्धको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज एक खेल बाँकी छँदै आफ्नो पक्षमा पार्न सफल भएको छ । शनिबार त्रिवि मैदानमा क्यानडालाई ४ विकेटले हराउँदै नेपालले तीन खेलको सिरिजको एक खेल बाँकी छँदै जितेको हो ।
नेपाली टोलीको जितमा तीन ब्याट्सम्यान कप्तान रोहित पौडेल, देव खनाल र अनिल शाहले अर्धशतक बनाए । जितसँगै नेपालले तीन खेलको शृंखलामा २-० ले अग्रता हासिल गरेको छ । यसअघि बिहीबार खेलिएको पहिलो खेलमा नेपालले क्यानडामाथि सात रनको रोमाञ्चक जित हासिल गरेको थियो ।
२८६ रनको लक्ष्य कप्तान रोहित पौडेल, देव खनाल र अनिल साहको अर्धशतकमा नेपालले २९ बल बाँकी छँदै पूरा गरेको हो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले ४५.१ ओभरमा ६ विकेट गुमाएर दुई सय ८७ रन बनाउँदै विजयलक्ष्य पार गरेको हो ।
खेलमा अनिल शाहले विस्फोटक ब्याटिङ गरी आक्रामक सुरूवात गरेका थिए । उनले २० बलमा ७ चौका र ३ छक्का प्रहार गरी ५० रन बनाए । अर्धशतक बनाएलगत्तै उनी आउट भएका थिए । आज कुशल भूर्तेलको स्थानमा उनलाई खेलाइएको थियो । अर्का ओपनर आशिफ शेख १० रन बनाएर आउट भए ।
देव खनालको विकेटपछि आएका भीम सार्कीले २१ बलमा ४ चौका हानेर २३ रन जोडे । पवन सर्राफले ८ बलमा २ चौका र १ छक्का प्रहार गरी १४ रन बनाए । त्यसपछि कुशल मल्ल र सोमपाल कामीले ९/९ रन प्रहार गरेका थिए । नेपालले ४५.१ ओभरमै लक्ष्य पूरा गरेको थियो ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभर खेलेर ९ विकेटको क्षतिमा २८५ रन बनाएको थियो ।क्यानडाका लागि उदेय भगवानले अविजित २० रन बनाए । उनले १५ बलमा १ चौका र १ छक्का प्रहार गरे ।
अन्तिम बलमा सोमपाल कामीबाट आउट हुनुअघि श्रीयस मोव्बाले ४० रन जोडे । उनले ४२ बलमा ४ चौका प्रहार गरे । त्यसअघि ओपनर आरोन जोनसनले ६२ बलमा १० चौका र २ छक्का प्रहार गर्दै ६५ रन बनाए ।
अर्का ओपनर नवनीत धलिवलले ६० बलमा ८ चौका प्रहार गर्दै ४६ रन बनाए । त्यस्तै पर्गत सिंहले ३८ बलमा ६ चौका प्रहार गर्दै ३८ रन जोडे । निकोलश किर्टनले २०, दिलप्रित बज्वाले १९ शाहिद अहमदजइले १३ रनको योगदान गरे ।
बलिङतर्फ नेपालका कप्तान रोहित पौडेल र कुशल मल्लले २/२ विकेट लिए । सोमपाल कामी, सूर्य तामाङ, आकाश चन्द र पवन सर्राफले १/१ विकेट लिए ।