काठमाडौँ – काठमाडौँको चन्द्र्रागिरी नगरपालिका–११ स्थित सिप्रदी बल्खु पुलमा प्रहरीको भ्यानबाट खसेर सहायक हवल्दारको मृत्यु भएको छ ।
प्रहरी प्रभाग बलम्बुमा कार्यरत सहायक हवल्दार हेमराज एलजीको उपचारको क्रममा सशस्त्र प्रहरी अस्पतालमा मृत्यु भएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, गएराति ११ः१५ बजे ड्यूटी सकेर फर्किँदै गर्दा प्रहरीको बा १ झ ७४१८ नम्बरको गाडीबाट लडेर एलजीको मृत्यु भएको हो ।
प्रहरीका अनुसार, सतुंगल नजिकै कोठामा जाँदा ओर्लिने बेला पछाडिबाट सडकमा खस्दा मृत्यु भएको प्रारम्भिक जाँचमा देखिएको छ । मृतक सहायक हवल्दार सुर्खेत गुर्भाकोट नगरपालिका–१२ सुवाकोटका स्थानीय हुन् ।
यस्तै प्रहरीको भ्यानबाट खसेर प्रहरीले ज्यान गुमाएको घटनामा छानबिन समिति गठन भएको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआइजी दीपक थापाले एसएसपी दिनेश मैनालीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेका हुन् ।
उनको मृत्यु भएपछि एआइजी थापाले तीन सदस्यीय समिति बनाएका हुन् । समितिमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मिलन केसी र जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी अनिल अधिकारी सदस्य छन् । समितिलाई १० दिनको समय दिइएको छ ।