राजीनामा बुझाएका डीआईजी चन्दको हेडक्वार्टरमा सरुवा !

काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत डीआईजी अर्जुन चन्दको प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको सिफारिसमा गृह मन्त्रालयले उनलाई प्रहरी प्रधान कार्यालयमा रहेको प्रदेश समन्वय विभागमा सरुवा गरेको हो ।

विमानस्थलमा प्रहरी र अध्यागमन विभागका कर्मचारीबीच कुटपिट भएको घटनामा प्रहरीलाई कारबाही गरिएको प्रति डीआईजी चन्द असन्तुष्ट थिए ।

गृह मन्त्रालयले बनाएको छानबिन समितिले पनि प्रहरी कर्मचारीलाई कारबाही गर्न सिफारिस गरेपछि उनले राजीनामा दिएका थिए । तर, प्रहरी प्रधान कार्यालयले राजीनामा ‘प्रक्रिया नपुगेको’ भन्दै स्वीकृतिका लागि अगाडी बढाएको छैन ।

उपत्यका प्रहरी कार्यालयबाट अघि बढेको राजीनामा प्रहरी प्रधान कार्यालय, नक्सालमा पुगेपछि प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, एआईजी टेकप्रसाद राई, मिरा चौधरी लगायतले रोकेका थिए ।

उनीहरुसँग भएको छलफलपछि राजीनामा रितपूर्वक नभएको भन्दै प्रहरी प्रधान कार्यालयले राजीनामा अघि बढाएको थिएन । यसपछि चन्द अहिले १० दिन बिदामा छन् । त्यहीबीच उनको सरुवा भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...