काठमाण्डाै – नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी अमेरिकाका लागि आवेदन दिने १० जना पक्राउ परेका छन् । काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अमेरिकी दूतावासको समन्वयमा १० जनालाई पक्राउ गरेको हो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार भिसा प्रयोजनका लागि एसएलसी तथा प्लस टूको नक्कली शैक्षिक सर्टिफिकेट बनाई पेस गरेको गोप्य सूचनाका आधारमा अमेरिकी दूतावाससँगको समन्वयमा उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा डीभी परेकाहरुसमेत रहेका प्रहरीले जनाएको छ । प्रहरीले सञ्जय महर्जन, भगवती उप्रेती, रोना गुरुङ, सुमन ढकाल, विवेक उपाध्याय, सक्षम अर्याल, सुरज अधिकारी, अशोक श्रेष्ठ, पुरुषोत्तम मल्लिक र स्वर्णीम दाहाललाई पक्राउ गरेको हो ।
अघिल्लो वर्ष सन् २०२३ का लागि डीभी परेकाहरूले नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्न थालेपछि अमेरिकी दूतावासले प्रहरीलाई खबर गरेको थियो ।
सो सम्बन्धमा अनुसन्धान गर्दै जाँदा नक्कली शैक्षिक प्रमाणपत्र बनाउने कार्यमा सञ्जय महर्जन लगायतको संलग्नता खुलेको थियो । त्यसपछि प्रहरीको विशेष टोलीले उनीहरूलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको थियो ।
पक्राउ परेकाहरूलाई मुलुकी अपराध संहिता २०२४ को परिच्छेद २५ को लिखतसम्बन्धी कसूरमा थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।