काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी र अध्यागमनका अधिकृतबिच भएको कुटाकुटको घटनाबारेको छानबिन सकिएको छ ।
छानबिन समितिले विमानस्थल अध्यागमन कार्यालयका अधिकृत छाँयालाल मोक्तानलाई अध्यागमन कार्यालयबाट हटाई विभागीय कारबाही गर्न र कुटपिटमा संलग्न असई *संजय तामाङलाई निलम्बन गर्न सिफारिस गरिएको छ ।
विमानस्थलमा कर्मचारी र प्रहरीबिच कुटाकुट भएको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले बनाएको समितिले प्रतिवेदन बुझाउँदै त्यस्तो सिफारिस गरेको हो ।
गत शुक्रबार विमानस्थलस्थित अध्यागमन कार्यालयमा कर्मचारी र प्रहरीबिच विवाद हुँदा कुटाकुट भएको थियो। सो घट्नालाई लिएर माघ १२ गते मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा छानबिन समिति बनेको थियो ।
गठित समितिले गृह मन्त्रालयमा बुझाएको प्रतिवेदन अनुसार कुटपिटमा संलग्न दुई प्रहरी जवान द्वय रवि रञ्जन गुप्ता र राजकुमार महत्वलाई विभागीय कारबाही गर्न सिफारिस गरिएको छ ।
त्यसतै समितिले डिएसपी रेवती रमन पोखरेलले आफ्नो कार्य क्षेत्रमा कमान्ड सम्हाल्न नसकेको भन्दै लिखित रुपमा सचेत गराउन सिफारिस गरेकाे छ ।
छानबिन समितिमा प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोला र सीमा तथा अध्यागमन प्रशासन शाखाका उपसचिव कुल बहादुर जिसी सदस्य थिए ।
उनीहरुले सो प्रतिवेदन बुधबार मन्त्रालयमा बुझाएका हुन् । कर्मचारी कुटपिटपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत कर्मचारीहरू प्रहरीलाई कारबाही माग गर्दै कालो पट्टी बाँधेर काम गरिरहेका थिए ।