जुम्ला – विवाह गर्नको लागि वडाको सिफारिस आवश्यक पर्छ भन्ने सुन्दा तपाईलाई अचम्म लाग्न सक्छ । तर यो वास्ताविकता रहेको छ ।
कम उमेरमै विवाह हुँदा प्रजनन स्वास्थ्यमा समस्या देखिने र आमा बच्चाकै ज्यान जोखिममा पर्न थालेपछि जुम्लाको तिला गाउँपालिका–६ नम्बर वडाले विवाह गर्दा वडाको सिफारिस अनिवार्य गरेको छ ।
२६ वैशाख २०८० देखि विवाह गर्दा नागरिकले विवाह गर्दा अनिवार्य वडाबाट सिफारिस लिनुपर्ने नियम बनाएका तिला गाउँपालिका–६ का वडाध्यक्ष जंग रोकायाले भने ।
कानुनी रूपमा विवाह गर्न २० वर्ष उमेर पुगेको हुनुपर्ने व्यवस्था छ । ‘सोहीबमोजिम सिफारिस दिने गरिएको छ,’ वडाध्यक्ष रोकायले भने। तिला गाउँपालिका–६ मा पर्ने घोडे गाउँमा ६८, रिपी गाउँमा ३५ र सुडी गाउँमा ११० गरी जम्मा २१३ घरधुरी रहेका छन् ।




















