काठमाडौं – दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दानाको ‘डिपफेक’ भिडिओ बनाउने व्यक्ति पक्राउ परेका छन् ।
डिपफेक भिडियो बनाउने इन्जिनियर इमानी नवीनलाई प्रहरीले पक्राउ गरेको छ । भारतीय संचारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार नयाँ दिल्ली प्रहरीको टिमले डिपफेक बनाउने नवीनलाई आन्ध्र प्रदेशबाट पक्राउ गरेको हो ।
इमानीले आफ्नो सामाजिक सञ्जालमा फलोअर्स बढाउन डिपफेक भिडिओ बनाएको बताएका छन् । उनीहरूलाई पक्राउ गरेपछि रश्मिकाले दिल्ली प्रहरी प्रशासनलाई धन्यवाद दिएकी छन् ।
उक्त भिडिओमा रश्मिकाको अनुहार अर्काे महिलाको अनुहारमा राखिएको थियो । उनी कालो पहिरन लगाएर लिफ्टमा चढिरहेकी देखाइएको थियो ।
यसैगरी डान्सर तथा अभिनेत्री नोरा फतेही ‘डिपफेक’ भिडिओको शिकार भएकी छन् । सामाजिक सञ्जालमा नोराको डिपफेक भिडिओ भाइरल भइरहेको छ। भिडिओको विरोध गर्दै उनले प्रतिक्रिया दिएकी छन् ।
एआई प्रविधिमार्फत उनको डिपफेक भिडिओ बनाइएको छ। लुलमेलोन नामको इन्स्टाग्रामले नोराको एक डिपफेक भिडिओ सेयर गरेको हो ।नोराले उक्त भिडिओ आफ्नो नभएको र झुटो भिडिओ पोस्ट गरेको भन्दै आपत्ती जनाएकी छन्। नोरा यतिबेला फिल्मको तयारीमा रहेकी छन् ।