काठमाडौं – विभिन्न सहकारी संस्था डुबाएर फरार भएका गितेन्द्रबाबु(जिबी) राईसँग सम्बन्धित ३७ करोड रूपैयाँभन्दा बढी मूल्यको सम्पत्ति रोक्का भएका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनको पत्रको आधारमा विभिन्न निकायहरूले राईसँग सम्बन्धित सम्पत्ति रोक्का गरिदिएका हुन्। अहिलेसम्म ३२ वटा कम्पनीको सम्पत्ति रोक्का भएको प्रहरी स्रोतले बतायो। थप केही घर र जग्गा रोक्का गर्न प्रहरीले मालपोत कार्यालयहरूलाई पत्र पठाएको छ।
राई संस्थापक अध्यक्ष रहेको नारायणगढस्थित साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड ८ हजार बढी बचतकर्ताले जम्मा गरेको पैसा नदिइकन बन्द भएको छ। सहकारी संस्थाका सबै सञ्चालक, व्यवस्थापक लगायतका जिम्मेवार कर्मचारीहरू फरार छन्। यहाँ सडकमा पोलेको मकै बेचेर दैनिक गुजारा चलाउनेदेखि सहरकै धनाढ्य व्यापारीसम्मले रकम बचत गरेका थिए। एक हजारदेखि ६ करोड रूपैयाँसम्म जम्मा गर्नेको ८५ करोड रूपैयाँ यहाँ जम्मा भएको थियो।
२०७९ पुस ७ गते भएको साधारणसभा यता सहकारी सञ्चालकले ८५ करोडमध्ये करिब ३० करोड रूपैयाँ फिर्ता गरेका छन्। अझै बचतकर्ताको ५५ करोड रूपैयाँ साहारा चितवनमा फसेको छ।
साहारा चितवन पीडित संघर्ष समितिका संयोजक सालिकराम दुवाडीले सहकारी संस्था डुबाएर सबै सञ्चालक फरार भएपछि उनीहरूको नाममा रहेको सम्पत्तिको खोजी गर्दै रोक्का गर्न जिल्ला प्रहरी कार्यालयमा आग्रह गरेको बताए।
जिबी राई सञ्चालक रहेको स्प्रिङ उड रियल स्टेट एण्ड हाउजिङ प्रालिको नाममा रहेको मकवानपुरको ठिंगनस्थित ४० रोपनी, रूपन्देहीको आनन्दवनमा रहेको १८ कट्ठा मालपोत कार्यालयहरूले रोक्का गरिदिएका छन्।
सहकारी संस्था डुबेको केही समयपछि राईले कुमार रम्तेल लगायतका व्यक्तिहरू सञ्चालक रहेको चेनी क्यापिटल नामको कम्पनीलाई राजीनामा पास गरिदिएको ललितपुर भैंसेपाटीमा रहेको २४ रोपनी ३ आना जमिन पनि मालपोत कार्यालयबाट रोक्का भएको छ। रम्तेल राईका सहयोगी हुन्।
२०७९ भदौ १ गते उक्त जग्गा राईबाट उक्त कम्पनीमा राजीनामा पास भएको देखिन्छ। उनी पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीमा बचतकर्ताको रकम अपचलन गरी ठगी गरेको आरोपमा पक्राउ परिसकेका छन्।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ स्थित हेटौंडा सिमेन्ट उद्योग नजिकै रहेको जमिन पनि मालपोत कार्यालयबाट रोक्का भएको छ।
राईसँग सम्बन्धित काठमाडौंमा रहेको ८ करोड रूपैयाँ मूल्य बराबरको घरसहितको जग्गा र भक्तपुरमा रहेको जमिन पनि रोक्काका लागि सम्बन्धित मालपोत कार्यालयहरूलाई पत्र पठाइएको छ।
साहारा चितवनले भवन निर्माणका लागि भनेर भरतपुर–१० मा व्यवस्थापक दिनेश रोक्काको नाममा खरिद गरेको जमिन गत असार १७ गते दिलकुमारी सापकोटाको नाममा पास भएको देखिएको छ।
त्यस्तै, जिल्ला प्रहरी कार्यालयको पत्रको आधारमा कम्पनी रजिष्ट्रारको कार्यालयले राईको नाममा विभिन्न कम्पनीमा रहेका सेयरहरू रोक्का गरिदिएको छ।
यो सहकारी संस्थाबाट विभिन्न कम्पनीले बिना धितो करोडौं रकम लगेको स्टेटमेन्टमा देखिन्छ। ती सबै कम्पनीको सञ्चालक गितेन्द्र बाबु राई छन्। गोरखा मिडिया नेटवर्क प्रालि (गितेन्द्र बाबु राई), जिबी ग्रुप अफ कम्पनी (गितेन्द्र बाबु राई), नेचर हर्व इन्टरनेसनल प्रालि (गितेन्द्र बाबु राई), नेचर नेष्ट प्रालि(गितेन्द्र बाबु राई), स्प्रिङ उड रियल स्टेट एण्ड हाउजिङ प्रालि(गितेन्द्र बाबु राई)को खातामा ४० करोड रूपैयाँभन्दा बढी रकम यो सहकारी संस्थाबाट गएको छ।
यी लगायतका धेरै कम्पनीको सम्पत्ति रोक्का भएको छ।
एपिवान मिडिया, अरूणदेव कन्स्ट्रक्सन एण्ड सप्लायर्स, गोर्खा ग्रुप मल्टी इन्भेष्टमेन्ट, देव दीप एग्रिकल्चर एण्ड एनिमल हावेष्ट्री फार्म, इगल आइज प्रालि, दि सिचुयस्नल एजुकेसनल कन्सल्टेन्सी प्रालि, तारापुञ्ज इन्भेष्टमेन्ट, शाङ्की एजुकेसन फाउण्डेसन प्रालि, प्रोफेसनल एग्रिकल्चर फर्म, नेपाल श्री मल्टिमिडिया, गोर्खा इन्टरनेसनल प्रालिको नाममा रहेको सम्पत्ति रोक्का भएको हो।
त्यस्तै, प्यागोडाज होम प्रालि, नेचर हर्ब्स बिजनेश स्कुल प्रालि, नेसनल एग्रिकल्चर एण्ड रिसर्च सेन्टर, मिल्की वे एजुकेसनल कन्सल्टेन्सी, मन्दरा टुर एण्ड एक्सिडिसन प्रालि, मन्दरा स्पा एण्ड वेलनेश सेन्टर प्रालि, हाउस अफ दि मिल्क वे, हिमालयन किङ्गडम एक्सपोर्ट प्रालि, हर्बो इन्टरनेसनल प्रालि, जिटिआर लिंक प्रालि, गोर्खा हर्बल प्रडक्सन, गोर्खा ग्रुप अफ इन्टरनेसनल, गोरखा ग्रुप अफ कम्पनी, गोर्खा आयुर्वेद कम्पनी, बोधान एजुकेसन फाउण्डेसन, भगवती बालुवाखानीमा रहेको सम्पत्ति रोक्का भएको हो।
सहकारी संस्थामा जम्मा भएको रकम राईले ग्यालेक्सी टेलिभिजनका साथै विभिन्न ठाउँमा जमिनमा, मलेसिया र सिंगापुरमा सञ्चालन गरेको व्यवसायमा लगानी गरेको दाबी साहारा चितवन संघर्ष समितिका संयोजक दुवाडीको छ। योजनाबद्ध ढंगले सहकारी संस्था सञ्चालन गरेर रकम लिई राई फरार रहेको दाबी उनको छ।
साहारा चितवन सहकारी संस्थाको चितवनमा नारायणगढ, टाँडी र पर्सामा तीनवटा कार्यालय छन्। यी तीनवटा शाखाको व्यवस्थापक दिनेश रोका हुन्। सञ्चालक समितिका अध्यक्ष सागर केसी, उपाध्यक्ष हेमन्त अधिकारी, सदस्यहरू भुपेन्द्र राई, आशिष आनन्द, अनन्तबाबु राई, छत्रमणि भट्टराई र देवेन्द्र बाबु राई छन्। अहिलेको सञ्चालक समितिमा जिबी राई भनिने गितेन्द्र बाबु राईको नाम देखिँदैन। तर सञ्चालक समितिमा रहेका व्यक्तिदेखि सहकारी संस्थाका व्यवस्थापक र सिनियर कर्मचारीहरू राई निकटका व्यक्तिहरू रहेको देखिएको छ।
२०५४ सालमा स्थापना भएको साहारा सहकारी संस्थालाई २०७४ सालको चैतदेखि राईको समूहले खरिद गरेर चलाएको थियो।