काठमाण्डौ – सरकारले काठमाण्डौ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा प्रदीप परियारलाई पठाउने निर्णय गरेको छ । उहाँ राष्ट्रिय योजना आयोगका सहसचिवसमेत हुनुहुन्छ ।
काठमाण्डौ महानगरका यसअघिका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई मधेशी आयोगमा सरुवा गरिएको छ । यसअघि स्वास्थ्यको कर्मचारी नियुक्तिमा चलखेल गरेको भन्दै अधिकारी र मेयर बालेन शाहबीच विवाद भएको थियो ।
अधिकारीको कार्यकक्षमा ताला समेत लगाइएको थियो । त्यसपछि अधिकारी बिदामा बस्नुुभएको थियो ।
वसन्त अधिकारी कर्मचारी भर्नाको किर्ते प्रकरणमा जोडिएर बिदा भएपछि काठमाडौं महानगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर हुँदैछन् । सरकारले त्यहाँ प्रदीप परियारलाई पठाउने टुङ्गो लगाइसकेको छ । स्वतन्त्र उठेर मेयर बनेका बालेन शाहजस्तै सफल विगत ३४ वर्षे प्रदीपको छ ।
३२ वर्षकै उमेरमा सहसचिव बन्न सफल व्यक्ति हुन् उनी । पर्वत फलेवासका प्रदीपले चैत २०७८ मा खुल्ला प्रतिस्पर्धामा सहसचिवमा नाम निकालेका थिए । त्यसअघि उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शाखा अधिकृतको रूपमा कार्यरत थिए ।
निजामती सेवामा उनको यात्रा ११ वर्ष भइसकेको छ । उनी २०६९ सालदेखि नायब सुब्बाका रूपमा निजामती सेवामा प्रवेश गरेका थिए । तर, सोही वर्ष उनी शाखा अधिकृतमा भिँडे । फ्याट्टै नाम पनि निकाले । निजामती सेवामा एक वर्ष परीक्षणकाल पूरा नगर्दै उनी शाखा अधिकृत भएर काम गर्न थालेका थिए ।
उसो त, उपसचिवको लिखितमा उनले तीनपल्ट नाम निकाले । २०६९ सालमै उनले उपसचिव प्रशासनतर्फ आन्तरिक र खुला दुवैबाट आवेदन दिएर नाम निकालेका थिए । परराष्ट्रको उपसचिवमा पनि उनी सफल भएका थिए । यो लिखितमा पाएको सफलता थियो । अन्तर्वार्तामा नछानिएकाले उनले उपसचिव भएर काम गर्न पाएनन् ।
प्रदीपले सहसचिव खुलामा समेत लिखितमा दुईपल्ट नाम निकालेका थिए तर अन्तर्वार्तामा फालिए । २०७७ सालमा पनि उनी अन्तर्वार्तामै बिफल भएका थिए । तर, उनले प्रयास छोडेनन् र २०७८ मा लिखित र अन्तर्वार्तामा सफल भएरै छाडे ।
बालेनका सारथि
संयोग के भने, काठमाडौं महानगरपालिकाका मेयर बालेन र प्रमुख कार्यकारी प्रदीप एकै महिना जन्मेका हुन् । उमेरले प्रदीभन्दा बालेन एक वर्ष कान्छा हुन् । बालेन वैशाख २०४७ मा काठमाडौंका नरदेवीमा जन्मेका थिए । उनले ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारत कर्नाटकको विश्वेश्वरय्या प्रौद्योगिकी विश्वविद्यालयबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन् । यी दुई जुझारू युवा सारथिको सहयात्रा कति फलदायी हुन्छ, त्यो हेर्न उनीहरूको आगामी काम कुर्नुको विकल्प छैन ।