काठमाडौं – पछिल्लो समय ब्रोइलर कुखुराको मासु सस्तिएको छ । स्वदेशमै ब्रोइलर कुखुराको उत्पादन बढेपछि मूल्य पनि घट्दै गएको हो ।
असार २५ गतेदेखि घट्न सुरु भएको ब्रोइलर कुखुराको मूल्य हालसम्म जिउँदो ब्रोइलर कुखुराको मूल्य प्रतिकेजी ६० रुपैयाँसम्म घटेको छ । यसो त असार २५ गतेभन्दा अघिसम्म ब्रोइलर कुखुराको बिक्री मूल्य ३ सय १० रुपैयाँ रहेको थियो ।
तर, हाल भने मूल्य सस्तिएर जिउँदो प्रतिकिलो २ सय ५० रुपैयाँ कायम भएको छ । हाल नेपाली बजारमा उच्च उत्पादनका कारण ब्रोइलर कुखुराको मूल्य सस्तिएको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ ।
हाल बजारमा ब्रोइलर कुखुराको तयारी मासु प्रतिकिलो ३ सय ८० रुपैयाँसम्म बिक्री वितरण भईरहेको छ ।