Advertisement

महेश बस्नेतको यो बोलीको कारण एमाले हुँ भन्न पनि लाज लाग्ने अवस्था आयो, बालेन, रवि, रमेश खरेललाई यस्तो भन्दै जाइलागे

Advertisement

काठमाडौं – नेकपा एमाले सांसद महेश बस्नेतले पार्टी र पार्टीभित्रको आफ्नो पदको र स्तरको मर्यादा भुसुक्कै भुलेर अभिव्यक्ती दिन थालेका छन् । पार्टीभित्रको केन्द्रीय स्तरको राजनीतिक भविष्य बोकेका नेताले दिएको अभिव्यक्तीपछि केही एमाले समर्थकहरुले एमाले भन्न पनि लाज लाग्न थालेको टिप्पणी गरेका छन् ।

बस्नेतले स्वतन्त्र समूहहरुबाट उदाएका जनप्रतिनिधि तथा नेताहरुमाथि आपत्तिजनक अभिव्यक्ति दिएपछि एमालेकै समर्थक र शुभचिन्तकहरुले यस्तो प्रतिक्रिया दिन थालेका हुन् ।

सोमबार भक्तपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बस्नेतले देशीविदेशी तत्वहरु रवीन्द्र मिश्र, रवि लामिछाने, बालेन, रमेश खरेल आदिका नाममा सल्बलाउन थालेको बताएका हुन् । बस्नेतले काठमाण्डू महानगरका मेयर बालेन्द्र साहलाई समयमै तह नलगाउने हो भने काँग्रेस र एमालेका नेताको घरमा आगो लगाउने बताएका छन् ।

भक्तपुरमा आयोजित एक कार्यक्रममा बस्नेतले बालेनको गतिविधि एमाले र काँग्रेसविरुद्ध केन्द्रित रहेको बताए । मानिसले जीवनभरको कमाइले बनाएको घरमा डोजर लगाउँदै हिंडेर बालेनले लाखौं मानिसलाई बिचल्ली पारेको टिप्पणी गरे । बस्नेतले पुराना मापदण्डका आधारमा बनेका सम्पदा बस्तीका घरमा भूकम्पपछि बनेको नयाँ मापदण्डअनुसारको पार्किङ नराखेको बहानामा भत्काउन नपाइने तर्क गरे ।

भत्काउने हो भने पूर्वसूचना दिएर विकल्प वा क्षतिपूर्तिसहित मात्र भत्काउनुपर्ने उनले स्पष्ट गरे । ‘ कसैलाई लहड चल्यो भन्दैमा डोजर चलाएर ड्याङकीड्याङ घर भत्काउन पाइँदैन । त्यहाँ लाखौं मान्छेको रोजगारी जोडिएको छ । लाखौं मान्छेहरुको जीवन जोडिएको छ’, बस्नेतले भने । सपनामा घर भत्किएको देख्दासमेत अनिष्ट हुन्छ भन्ने मान्यता रहेको नेपाली समाजमा हिरो भन्नका लागि बिपनामै घर भत्काइनु निन्दनीय भएको बताए ।

उनले कतिपय एमाले कार्यकर्ताले आफूले बालेनको अराजकताको विरुद्ध मुख खोल्दा त्यसो नगरेको भए हुन्थ्यो भन्ने सुझाव आएको बताए । अहिले आफूले बोलेका कुरा मन नपराउनेले कुनै बेला आफ्नो घरमा डोजर चलेपछि कुरा बुझ्ने बस्नेतले बताए । ‘सोसल मिडिया र मिडिया हेरेर हाम्रा केही साथीहरु बहकिएको देख्छु । दाई यो विषयमा त नबालेको भए भए हुन्थ्यो नि । जब तपाईंको घर भत्किन्छ त्यतिखेर तपाईंले दाईलाई खोज्नुहुन्छ । अहिले दाईले बोलेको कुरा तपाईंलाई मन नपरेको होला । तपाईंको घर भत्किन्छ यदि यही पाराले जाने हो भने ।’

जीवन भरको कमाई लगाएर बनाएको घर भत्किएको कसैले पनि हेर्न नचाहने उनको भनाइ छ । यस्ता तत्वलाई समयमै तह लगाउनुपर्ने भन्दै बस्नेतले बालेनजस्तालाई बेलैमा तह लगाउन नसके कुनै दिन काँग्रेस र एमालेको घरमा आगो लगाउने दाबी गरे । ‘भोलि ह्वारह्वार्ती आगो बल्छ । यिनीहरु काँग्रेसका नेताको घर जलाउन जानेछन् । एमालेका नेताको घर जलाउन जानेछन्’, उनले भने ।

बस्नेतले कमजोर साइबर कानूनको फाइदा उठाएर बालेन समूहले सामाजिक सञ्जालमा नेताहरुलाई कुकुरको माला लगाइदिएको पोष्टहरु राखेको उल्लेख गरे । एमालेको सरकार बनेपछि त्यस्ता कुराको एकएक हिसाब गरेर साइबर लमार्फत जेल पठाउने चेतावनी उनले दिए ।

‘यिनीहरुले अनेक खालका विकृति फैलाएका छन् । विशेष गरी काँग्रेस र एमालेका नेताहरुमाथि यिनीहरु केन्द्ति छन् । यो सबै टुलुटुलु हेरेर बसेर कोही काँग्रेस र एमाले बन्छ भने त्यो काँग्रेस र एमाले हुँदैन’, उनले भने, ‘राजनीतिक व्यवस्थामा मेरो पार्टी ठीक हो । तिम्रो पार्टी बेठीक हो भन्ने हिम्मत हामीसँग हुनुपर्छ ।’

काठमाण्डू महानगरले एमाले कार्यकर्ता विराज शर्माद्वारा नयाँबानेश्वरस्थित अल्फाबिटाको अवैध संरचनामा डोजर चलाएपछि बस्नेतले मेयर बालेनविरुद्ध सामाजिक सञ्जालमा घम्कीपूर्ण पोष्ट गर्दै आएका छन् ।

काठमाडौं महानगरका मेयर बालेनले पछिल्लो दिनमा अनधिकृत संरचनाहरुमा डोजर लगाइरहेको घटनाप्रति संकेत गर्दै बस्नेतले आफ्ना कार्यकर्तालाई सकभर मुखले सम्झाउन, नत्र हातगोडाले भए पनि सम्झाउन उक्साएका हुन् ।

युथफोर्स नामक दस्ता बनाएर एमाले राजनीतिमा चर्चा पाएका बस्नेत अध्यक्ष केपी ओलीका प्रिय पात्र मानिन्छन् । ओली प्रधानमन्त्री रहेका बेला दलफुटाउ अध्यादेश जारी गर्ने बेला उनले पूर्वआइजिपी सर्वेन्द्र खनालको सहयोगमा जसपाका सांसद सुरेन्द्र यादवलाई अपहरण शैलीमा मधेसबाट रातारात काठमाडौं ल्याई होटलमा राखेका थिए ।

बस्नेतले बालेन लक्षित गर्दै आगो बल्न थाल्दा स्याउलाले निभाए पनि आगलागी भएमा पछि के गर्ने भन्दै युवालाई प्रश्न गरेका थिए । बस्नेतले भने, ‘सकभर मुखले सम्झाउनुस्, सम्झेनन् भने हातगोडा जेले भए पनि सम्झाउनुस् । परेको पार्टीले बेहोर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...