Advertisement

स्यानिटरी प्याडको विकल्पको रुपमा उदाउँदै गरेको मेन्सट्रुअल कप आखिर के हो ?

Advertisement

महिलाको महिनावारीमा काम लाग्ने मिन्स्ट्रुअल कपको प्रोटोटाइप पहिलो पटक सन् १९३० को दशकमा आएको थियो । यसको पेटेन्टको पहिलो आवेदन सन् १९३७ मा अमेरिकी अभिनेत्री लियोना चामर्सले गरेकी थिइन् ।

पछिल्ला केही वर्षमा यसको अत्याधुनिक र उन्नत संस्करण बजारमा आएका छन् ।

सिलिकन, रबर वा लेटेक्सले बनेको सानो कपको आकारको यो वस्तु महिलाको जीवनमा बिस्तारै सही तर यसले अब स्यानिटरी प्याडको स्थान ओगटिरहेको छ । यसको एउटा कारण यो पनि हो कि स्यानिटरी प्याड एकपटक मात्रै प्रयोगमा आउँछ जबकी मेन्स्ट्रुअल कप धेरै व्यावहारिक र टिकाऊ हुन्छ ।

यो कप लचिलो उत्पादनहरु मार्फत् बनेको हुन्छ, त्यसैदे महिलाको यौनाङ्ग भित्र यसले कुनै समस्या पैदा गदैन ।

दक्षिण अमेरिकी देश ब्राजिलको साओ पाउलोको एउटा अस्पतालकी स्त्री रोग विशेषज्ञ अलेक्जेन्ड्रे पुपो यसबारे थप जानकारी दिन्छिन् ।

उनी भन्छिन्, ‘यसको प्रयोग गर्ने महिलाका अनुसार बिकिनी वा लेगिङ्ग्स जस्ता कपडा लगाउँदा पनि यो प्रयोग गरिएको छ भनेर थाहा हुँदैन । यस्तै यसले टेम्पोनजस्तो फाल्तू तत्व पनि पैदा गर्दैन ।’

यो कप थुप्रै साइजमा उपलब्ध छ । यसको लम्बाई ४ देखि ६ सेन्टिमिटरको बीचमा हुन्छ । यस्तै माथि यसको व्यास ३ देखि ५ सेमीको बीचमा हुन्छ । ठूलो आकारको कपको आवश्यकता ती महिलालाई हुन्छ जसको बढी रक्तश्राव हुन्छ ।

स्वच्छता र सुरक्षित उपायको मामिलामा डाक्टरको दिशानिर्देश मान्ने हो भने यो उत्पादन पूर्ण रुपमा सुरक्षित छ र यो १० वर्षससम्म टिक्न सक्छ ।

यो लेखमा हामी मेन्स्ट्रुअल कपसँग जोडिएका पाँच महत्वपूर्ण प्रश्नको जवाफ खोज्ने कोसिस गरिरहेका छौँ ।

१. मेन्स्ट्रुअल कप योनीमा कसरी हाल्ने ?

महिलाको योनीमा यो कपलाई हाल्नुअघि यसलाई दुई वा तीन हिस्सामा मोड्नुपर्छ ताकि योनीभित्र यसलाई प्रवेश गर्न सहज होस् । यसलाई थुप्रै तरिकाले मोड्न सकिन्छ ।

दक्षिण ब्राजिलको पोर्टो एलेग्रेको एउटा अस्पतालसँग सम्बन्धित स्त्री रोग विशेषज्ञ गेब्रिएला गेलिना यसबारे बीबीसीसँग भन्छन्, ‘यदि कोही महिलाको यौनाङ्ग सुख्खा छ भने यसलाई प्रवेश गराउन गाह्रो हुन्छ, त्यसैले लुब्रिकेन्टको प्रयोग गर्नुपर्छ । विशेषगरी जब यसको प्रयोग पहिलो पटक भइरहेको छ भने ।’

गेलिना भन्छिन्, ‘त्यसपछि बिस्तारै यसलाई भित्र हाल्नुपर्छ । हामीले रगत जम्मा गर्ने भागलाई छोड्छौँ तब यो कप बिस्तारै खुल्ने गर्छ । यसलाई भित्र राम्रोसँग मिलाउनका लागि यसलाई थोरै घुमाउनुपर्छ ।’

औंलाको मद्दतले यसलाई यौनाङ्ग भित्र यसरी राख्नुपर्छ कि यो एउटा ट्याम्पोन हो । ट्याम्पोन र यो कपमा मुख्य भिन्नता के छ भने ट्याम्पोनको काम रगत सोस्नु हो र कपको काम रगत जम्मा गर्नु हो ।

अलेक्जेन्ड्रे पुपो भन्छिन्, ‘एकपटक यो प्रवेश गराएपछि यो कप यौनाङ्गाका भित्ताहरुमा टाँस्सिने गर्छ । यो खुला नै रहोस् भनेर सुनिश्चित गर्नका लागि यसको किनारामा हुने इलास्टिकको ब्यान्ड थोरै कडा हुन्छ । भित्र यो अलि फैलिएर भित्तासँग जोडिने गर्छ, जहाँ यो स्थिर हुन्छ ।’

मेन्स्ट्रुअल कपको प्रयोग एक पटकमा धेरैभन्दा धेरै १२ घण्टासम्म गर्न सकिन्छ । यद्यपि, जुन महिलाको रक्तश्राव बढी हुन्छ उनीहरुलाई ४ देखि ६ घण्टापछि यसलाई फेर्न सल्लाह दिइन्छ ।

यसको सानो आकार यसलाई खोज्नमा सहयोगी हुन्छ । यद्यपि, यसले समस्या पनि निम्त्याउन सक्छ ।

पुपोले यसलाई निकाल्न निकै कसरत गर्नुपर्ने हुनसक्ने बताइन् । त्यसैले भित्रको भ्याक्युम कम गर्नका लागि उनी औँलाको प्रयोग गर्न सल्लाह दिन्छिन् ।

यद्यपि, नुहाउँदा यसलाई निकाल्न आरामदायी हुनसक्छ तर शौचालयमा बसेर पनि यसलाई निकाल्न सुरक्षित छ ।

गेलिना भन्छिन्, ‘पहिलो पटक यसको प्रयोग साधारणतया थोरै असहज हुन्छ भन्ने कुरा ध्यानमा राख्नुपर्छ । कुनै महिलालाई मेन्स्ट्रुअल कपको प्रयोगमा बानी पार्न दुई वा तीन कोसिस लाग्न सक्छन् । महिनावारी नभएका बेला यसलाई प्रयोग गर्न सिक्नुपर्ने सल्लाह दिइन्छ ।’

२. मेन्ट्रुअल कपलाई कसरी सफा गर्ने ?

पहिलो पटक प्रयोग गर्नुभन्दा अघि मेन्स्ट्रुअल कपलाई भकभकी उम्लिएको पानी वा माइक्रोवेवमा ५ मिनेटसम्म उमाल्नुहोस् ता कि यो सुरक्षित होस् । थुप्रै ब्रान्डले त यसका लागि विशेष प्रकारको कन्टेनर पनि उपलब्ध गराउँछन् ।

महिनावारी भइरहेका बेला जब यसको बारम्बार प्रयोग गरिन्छ तब यसलाई पानी र साबुनले राम्रोसँग सफा गर्न सल्लाह दिइन्छ । जब महिनावारी समाप्त हुन्छ तब यसलाई त्यसरी नै उमाल्नुपर्छ ।

यसको प्रयोग नहुँदा यसलाई कुनै कपडाको थैलीमा बन्द गरेर राख्नुपर्छ । त्यसपछि महिनावारी सुरु हुँदा यसको प्रयोग पुनः पानीमा उमालेपछि मात्रै गर्नुपर्छ ।

३. के यसले स्वास्थ्यमा खतरा निम्त्याउँछ ?

राम्रोसँग स्यानिटाइज भएपछि मेन्स्ट्रुअल कपको प्रयोग निकै सुरक्षित हुन्छ । तर यसलाई राम्रोसँग सफा गरिएन भने यसले संक्रमणको खतरा बढ्न सक्छ ।

गेलिनाका अनुसार यदि यौनाङ्ग सूक्ष्मजीवको सम्पर्कमा आउँछ तब यो हानीकारक हुनसक्छ । यसले केन्डिडिआसिस र वेजिनोसिसको समस्या पैदा हुनसक्छ ।

स्त्रीरोग विशेषज्ञ अलेक्जेन्ड्रे पुपोले दिएको सल्लाह अनुसार जुन महिलालाई कण्डमबाट एलर्जी हुन्छ उनीहरुले लेटेक्स–फ्रि कपको प्रयोग गर्नुपर्छ ।

४. मेन्स्ट्रुअल कप लगाउँदा के गर्ने, के नगर्ने ?

साधारणतया मेन्स्ट्रुअल कप लगाइरहँदा पिसाब फेर्न कुनै समस्या हुँदैन । तर यदि दबाब महसुुस भइरहेको छ भने यो कपलाई यौनाङ्ग भित्र थप प्रवेश गराउनुपर्छ भन्ने बुझ्नुपर्छ ।

कुनै महिलाले गर्भाशयमा गर्भनिरोधक आर्एयूडी लगाइरहेका छन् भने पनि यसको प्रयोगमा कुनै समस्या हुँदैन । दुबैको स्थान भिन्न भिन्न हुने भएकोले समस्या हुँदैन । एउटा गर्भाशयको भित्र हुन्छ भने अर्को यौनाङ्गको भित्र ।

यद्यपि, जब यौन सम्बन्ध स्थापित गर्नु छ भने यो कपलाई यौनाङ्गबाट निकाल्नुपर्छ । ती महिला जसले पहिला कहिल्यै यौन सम्बन्ध स्थापित गरेका छैनन्, उनीहरुका लागि थप नरम कप आउँछन् ।

जानकारका अनुसार अहिले पनि मेन्स्ट्रुअल कपबारे धेरै मानिसलाई खासै थाहा छैन किनभने यसबारे धेरै कुरा हुँदैन ।

५. मेन्स्ट्रुअल कपको प्रयोग र फाइदा र हानी के ?

डाक्टरको धारणा अनुसार मेन्स्ट्रुअल कपको सबैभन्दा ठूलो खुबी यो स्थायी प्रकृतिको वस्तु हो ।

कुनै महिला आफ्नो जीवनकालमा ४५० पटक महिनावारी हुन्छिन् । यसको अर्थ यो हो कि एक महिलाले आफ्नो जीवनमा करिब ७,२०० स्यानिटरी प्याडको प्रयोग गर्नुपर्ने हुन्छ । जबकी मेन्स्ट्रुअल कपको सबैभन्दा ठूलो विशेषता भनेको एउटा कप ३ देखि १० वर्षसम्म चल्छ ।

यसको अर्को एउटा विशेषता भनेको यसले बनाउने भ्याक्युमले महिनावारीको रगतलाई हावाको सम्पर्कमा आउन दिँदैन । त्यसैले महिनावारी हुँदा पनि भित्रीवस्त्रमा गन्ध आउँदैन ।

स्त्रीरोग विशेषज्ञका अनुसार यसको नकारात्मक पाटो भनेको सबै महिलालाई यो कप राम्रोसँग प्रयोग गर्ने तरिका नआउन सक्छ त्यसैले उनीहरुले यसमा समस्या झेल्नुपर्ने हुनसक्छ ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...