मधेस प्रदेशमा डीआइजीको असुली आतंक

वीरगञ्ज । नेपालसँग सीमा जोडिएका २१ वटा जिल्ला छन् । तीमध्ये पर्साबाट सबैभन्दा बढी सामान आयात हुने गर्छ । पर्सा र बाराको सीमा क्षेत्रमा नेपाल प्रहरी वा सशस्त्रका वर्षौवर्षसम्म काम गर्ने प्रहरीका जुनियर अधिकृत र तल्लो दर्जाका सादा पोशाकमा परिचालित (घुमुवा) प्रहरीले गर्दा भन्सार छली बढेको छ ।

यस्तै, पर्सा र बारामा वर्षौदेखि कार्यरत नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक(सई) हुन् सागर राणा । प्रहरीमा असईमा सेवा प्रवेश गरेदेखिकै ट्रयाक रेकर्ड हेर्ने हो भने राणा पर्सा र बारामै मात्र कार्यरत छन् । राणा तत्कालीन मध्यमाञ्चल, २ नम्बर प्रदेश हुँदै हाल मधेस प्रदेशका डीआइजीदेखि पर्सा र बाराका इन्चार्जलाई नै प्रभावमा राख्ने हैसियत राख्दै आएका छन् । अहिलेसम्मका जति पनि डीआइजी आए, उनीहरू सबैको प्रियपात्र हुने खुबी राणामा रहेको छ । भन्सार छली गर्नेहरूसँग कनेक्सन भएकाले उनी तस्करहरूबाट जति पनि रकम उठाउन सक्ने हैसियत राख्दछन् । डीआइजीसम्म पहुँच राख्न सक्ने भएकाले उनले लगातार आफूले भनेको र इच्छाएको नाका र घुमुवा इन्चार्जमा नै बस्दै आएका छ्न् । असईबाट नेपाल प्रहरीमा प्रवेश गरेका सागर राणा हालै वरिष्ठ सई भइसक्दा पनि बारा, पर्सा बाहेक अन्य जिल्लामा खटिएका छैनन् ।

प्रहरी संगठनका उच्च ओहदाका हाकिमकै आशीर्वाद उनीमाथि रहेको छ भन्ने कुरा राणाको बढुवा प्रहरी वरिष्ठ नायव निरीक्षमा हुनु र विगत पाँच वर्ष भन्दा बढी समयदेखि बाराको जितपुर इलाका इन्चार्ज, त्यसपछि अमलेखगञ्ज इलाका इन्चार्ज, फेरि जितपुर इलाका इन्चार्ज भएबाट पनि थाहा हुन्छ । त्यसपछि भारतबाट बढी तस्करी हुने बारा र पर्साको सीमा रहेको बाराको प्रहरी चौकी मुसहर्वा बलिरामपुर नाकामा बसेका राणाले २५ गतेको बढुवापछि बारामै दरबन्दी कायम गराई पदस्थापन गराउन सफल भएका छन् ।

प्रहरीमा जागिर खाएदेखि नै दरबन्दी जुनसुकै जिल्लामा भए पनि बारा–पर्साको घुमुवा र नाकामा नै बस्दै आएका राणा बाराको सिमरामै करोडौंं मूल्यको घर र जग्गा जोड्न सफल भएको उनलाई चिन्ने जुनियर प्रहरी अधिकृत बताउँछन् । सागर राणाले आफैं तस्कर र ब्यापारीसँग रकम असुल्दैनन् । उनले सहयोगीमार्फत् रकम उठाएर नेपाल प्रहरीका उच्च पदाधिकारीकहाँ पु¥याउने गरेका छन् ।

अहिले सागरले काठमाडौंमा दरबन्दी भएका प्रहरी हवल्दार राजु गुप्तालाई परिचालन गरेर बारा र पर्साबाट महिनाको करोडौं रकम असुली गराउँदै आएको आरोप छ । दसौँ वर्षदेखि बारा र पर्सामा मात्रै कार्यरत भएकाले तस्करी गर्ने समूहका बारेमा एक एक जानकारी भएका राणाले सबै सेटिङ मिलाउने र गुप्तामार्फत् लेनदेन गर्ने गरेको आरोप छ ।

त्यसैगरी अर्का भाग्यमानी रहेका छन्, सई राधा मोहन कुशवाहा । प्रहरी प्रधान कार्यालयले प्रहरी संगठनलाई नै बदनाम गराएको आरोपमा दुई वर्ष पहिला कुशवाहालाई खोटाङ सरुवा गरेको थियो । तत्कालीन आईजीपी ठाकुर ज्ञवालीसँग कुशवाहाको राम्रो सम्बन्ध रहेकोले खोटाङ जानै परेन । उनले कुशवाहालाई बारामै काज गरिदिए । त्यो बेलादेखि कुशवाहा अमलेखगञ्ज इलाकाको इन्चार्ज, प्रहरी चौकी पथलैयामा इन्चार्ज र जिल्ला प्रहरी कार्यालय बारा र खोटाङ हुँदै कुशवाहाले महोत्तरी सरुवा गराउन सफल भएका थिए । कुशवाहा तिनै हुन्, जसले आफ्नो जिल्लादेखि हेडक्वाटरसम्मको हाकिमलाई खुशी बनाई दोस्रो पटक पुनः पथलैयामै पाँच महिनादेखि इन्चार्ज बन्न सफल भएका छन् । यी दुई नेपाल प्रहरीका सईहरूलाई बारा र पर्सा बाहेक जो आईजीपी भए पनि पठाएको पाइँदैन । प्रहरी संगठनका वरिष्ठ अधिकृतहरूले नै भन्दै हिंडेका छ्न् कि राणा र कुशवाहाको जस्तो जागिर नेपाल प्रहरीमा कमैले खाएका छ्न् ।

मधेस प्रदेशका डीआइजी उमेश रंजितकारको असुलीले सीमा नाघेको छ । आइजीपी शैलेश थापा क्षेत्रीसँगै आगामी २०७९ बैशाख १९ गते अवकाश हुन लागेका डीआइजी रंजितकारले मधेस प्रदेशका ८ वटै जिल्लामा घुमुवा परिचालन गरी घुस असुली गरेको आरोप छ । डीआइजीको नाममा ८ वटै जिल्लामा घुमुवामार्फत् दररेट तय गरी मासिक घुस संकलन गर्ने गरेको आरोप छ । पर्साबाट ३५ लाख, धनुषा ३० लाख, बारा २५ लाख, महोत्तरी २५ लाख, रौतहट २५ लाख, सर्लाहीबाट २० लाख र सप्तरीबाट २० र सिरहाबाट १५ लाख दस्तुरी तोकिएको चर्चा प्रहरीमा छ । घरेलु मदिरा र जुवाको छुट्टै लिने गरिएको स्रोतको दाबी छ । मासिक रकम संकलनका लागि घुमुवाको टीम नै प्रदेश कार्यालयबाट परिचालन गरिएको छ ।

पर्सामा हवल्दार राजु गुप्ता, बारामा जवान संजय जैसवाल, रौतहटमा हवल्दार राजमंगल सिंह, सर्लाहीमा असई लालजी यादवलाई परिचालन गरिएको छ । यो टोलीलाई सहयोग गर्नका लागि हवल्दार विनोद राम र जवान मन्जित यादवलाई खटाइएको छ । यी घुमुवामध्ये गुप्ताको दरबन्दी काठमाडौं हो भने संजय जैसवालको महोत्तरीमा छ । राजंगल सिंह र लालजी यादवको रौतहटमा दरबन्दी छ ।

डीआइजी रंजितकारले मधेस प्रदेशमा गरेको असुली आतंकका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दिनमा ३ वटासम्म उजुृरी पर्ने गरेका छन् । अख्तियारको हेटौंडा कार्यालयमा जति उजुरी पर्दा पनि सुनुवाइ नभएपछि केन्द्रीय कार्यालय टंगालमा समेत थुप्रै उजुरी परेका छन् । तर, उनीमाथि छानबिन हुन नसक्दा मधेस प्रदेशमा तस्करी चम्केको छ । दृष्टि साप्ताहिकमा खबर छ l

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...