काठमाडौं –
प्रधानमन्त्री शेरबहादुर देउबाले एमसीसीका परियोजनाहरू निर्माणका लागि एमसीए–नेपालले गर्ने ग्लोबल टेन्डरमा भाग लिन नेपाली निर्माण व्यवसायीलाई आग्रह गरेका छन् ।
नेपाल निर्माण व्यवसायी महासंघको २३ औं वार्षिक साधारणसभा काठमाडौंमा उद्घाटन गर्दै देउवाले ग्लोबल टेन्डरमा भाग लिने हिम्मत गर्न व्यवसायीलाई आग्रह गरेका हुन् ।
एमसीसीको टेन्डरबाट नेपाली कम्पनी छानिएमा आफू खुसी हुने देउवाले बताएका छन् । ‘एमसीसीको टेन्डरमा सफल हुनुस्’, प्रधानमन्त्री देउवाले भने, त्यसो भए सबैभन्दा बढी खुसी म नै हुनेछु ।’
अमेरिकाको कानूनका कारण अन्तर्राष्ट्रिय बोलपत्र गर्नुपर्ने भन्दै देउवाले जुनसुकै देशका कम्पनी पनि एमसीसीको परियोजना निर्माणका लागि आउन सक्ने बताएका छन् ।
‘चीनकै पनि कम्पनी आउन सक्छन्, भारतको पनि आउनसक्छन्’, उनले भने, ‘नेपालकै वा अरु देशका कम्पनीले पनि प्रतिस्पर्धा गर्न सक्छन् ।’
गृहमन्त्री बालकृष्ण खाणले बिजुलीको तारमा झुन्डिएर विदेशी सेना नआउने बताएका छन् ।
विगतमा रहेको लोडसेडिङको समस्यालाई सम्झाउँदै खाणले त्यही दिन फेरि आउन नदिन एमसी परियोजनालाई स्वीकार गरिएको बताएका छने ।
खाणले प्रधानमन्त्री देउबाले पद नै धरापमा परेपनि एमसीसी पास गर्ने दृढता देखाएको बताए ।
उनले अन्तर्राष्ट्रिय समुदायसामु देशको विश्वसनियता बचाउन पनि एमसीसी परियोजना स्वीकारिएको बताएका छन् ।
यो पनि : प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहमा जनप्रतिनिधिले चार वर्षसम्म गरेको कामको मूल्यांकन गरेर मात्रै मतदान गर्न आग्रह गरेका छन् ।
‘स्थानीय तहको पहिलो निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको कार्यकाल सकिँदैछ, नयाँ जनप्रतिनिधि चुन्न वैशाख ३० गते निर्वाचन हुन्छ ।
तपाईँहरू उत्साहका साथ सहभागी हुनुहोला । देशलाई अझै बलियो र सुदृढ बनाउनका लागि यो चुनाव महत्वपूर्ण छ,’ उनले भने,
‘तपाईँहरूले आफ्नो मतको प्रयोग गर्दा, जनप्रतिनिधि छनोट गर्दा विगत चार वर्षको कामको मूल्यांकन गरेर मात्रै मतदान गर्नुहोला ।’
सोमबार नुवाकोटको तादी गाउँपालिकामा नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले संविधानले लिएको लक्ष्य प्राप्ति र समतामुलक समाज निर्माणका लागि स्थानीय तहको भूमिका महत्वपूर्ण हुने बताए ।
‘तीन तहको संघीय शासन प्रणाली लागू भएसँगै संविधानले स्थानीय तहलाई महत्वपूर्ण जिम्मेवारी र अधिकार दिएको छ । त्यसैले संविधानले परिकल्पना गरेको समतामुलक समाज निर्माणका लागि स्थानीय तहको भूमिका महत्वपूर्ण छ,’ उनले भने ।
प्रधानमन्त्री देउवाले सरकारले काठमाडौं–केरुङ सम्पर्कका लागि छहरे–टोखा सुरुङमार्गसहितको सडक स्तरोन्नतिका लागि सम्भाव्यता अध्ययन गरी कार्यारम्भ गर्ने बताए ।
यस क्रममा प्रधानमन्त्री देउवाले एमसीसी राष्ट्रहितमा रहेको दोहोर्याएका थिए । सोमर नै किस्माङ गाउँपालिकाको भवन उद्घाटन गर्दै एमसीसीबारे एमाले नेता भीम रावलले गलत प्रचार गरेको भन्दै प्रधानमन्त्री देउवाले त्यसप्रति आक्रोश व्यक्त गरेका थिए ।
‘एमसीसी राष्ट्रहितमा छ, यो अनुदानको बजेट हो । हुन त यहाँ एमसीसी पास भए अमेरिकी सेना आउँछ भन्नेहरू पनि छन्,’ देउवाले भने,
‘पूर्वप्रधानमन्त्री केपी ओलीजीकै पालामा एमसीसी संसद्मा दर्ता भएको हो । उहाँकै सरकारले संसद्बाट स्वीकृत गराएको हो । अहिले त्यही पार्टीको नेता हुनुहुन्छ, भीम रावल ।
उहाँले एमसीसीको विरोधमात्रै होइन, झुटो प्रचार गर्नुभएको छ । त्यो बेला उहाँले केही बोल्नुभएन, अहिले हामीले अघि बढाउँदा उहाँ विरोध गर्दै हुनुहुन्छ ।’