काठमाडौँ –
६८ वर्षीया मिठू रिजाल १६ वर्षदेखि काठमाडौंको बानेश्वर-बत्तीसपुतली सडकखण्डमा मकै पोलेर गुजारा चलाउँदै आएकी छिन् । तीनकुने र कालीमाटीबाट मकैका घोगा ल्याएर उनले सडकछेउमै बेच्दै आएकी छन् ।
हरेक वर्ष मार्च ८ तारिखमा अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहँदा रिजालजस्ता हजारौं महिला र उनीहरूको समस्या भने छायाँमा पर्ने गरेका छन् ।
कुनै दिवस आएको पत्तै नपाउने रिजालसँग इकान्तिपुरका गोविन्द पोखरेलले गरेको कुराकानी :
मकै पोलेर बेच्न थाल्नुभएको कति वर्ष भयो ?
त्यस्तै १६/१७ वर्ष भयो होला ।
एकदिनमा कतिवटा बिक्री हुन्छन् ?
त्यस्तै ४०/५० वटा बिक्छ ।
मकै कहाँबाट ल्याउनुहुन्छ ?
बिहान साढे ४ बजे उठेर हिँड्नुपर्छ । बिहानै गएन भने मकै नै पाइँदैन । तीनकुनेमा पाइएन भने कालिमाटी जानुपर्छ । जसले छिटो गयो त्यहाँ पाइन्छ नभए कालिमाटीमा । ९/१० बजेतिर फुटपाथमा जान्छु । बदाम र चुरोटहरू पनि बेच्छु ।
प्रतिगोटा कति लिनुहुन्छ ?
मकै ३० रुपैयाँ । बदामचाहिँ २०, ३० र ६० रुपैयाँको छ ।
फाइदा कतिको हुन्छ ?
मकै बेचेर के नै पो हुन्छ र ? गुजारा त चलाउनु पर्यो नि । दिनमा ४०/५० घोगा बेच्दा त्यस्तै २/३ सय रुपैयाँ बच्छ । गाडीभाडा, दाउरा गर्दा एउटा घोगा नै २५ परिहाल्छ । सबै एकैखालका नि हुँदैनन् । कुनै २५ रुपैयाँमा पनि बेच्छु ।
नियमित ग्राहक छन् कि सडक हिँड्नेले मात्रै किन्छन् ?
मकै खान आउने सबै एकथरिका हुँदैनन् पनि । फुटपाथको मकै सधैं कसले पो खान्छ र ? बाटोमा हिँड्नेहरुले धेरै खान्छन् । सधैं एकनासको व्यापार पनि छैन ।
कसैले दु:ख देख्छन्, कोही विचरा भन्छन् । कसैले ‘सडकमा ठग्न बसेको’ भन्दै थर्काउँछन् । कारमा चढ्नेहरु पनि आउँछन् तर उनीहरुलाई नै अलिक सस्तो चाहिन्छ । ३० रुपैयाँको मकै बेच्नु छ त्यसमा पनि ५ रुपैयाँका लागि मोलमोलाइ गर्छन् ।
सडकपेटीमा बस्न त नगरप्रहरीले पनि दिँदैन होला नि ?
अस्ति नै नगरपालिकाले पोलिदिएर केही छैन । आगो नै घोप्टाइदियो । १०/१५ दिन भयो होला । मकै पोल्ने ओदान अर्कै थियो । उनीहरु आएर खोस्न थाले । ओदान अघि लगेँ ।
कराई खस्दा कोइला सबै मेरो खुट्टामा लाग्यो । हातखुट्टामा पोल्यो । माथि अफिसबाट घ्युकुमारी ल्याएर एकजना भाइले लगाइदिए । अनि नगर प्रहरी गयो ।
पहिला नि दुई चोटि खोसिदिएको थियो । तर यसपालि चाहिँ आगोले नै पोल्यो । नयाँ चिम्टा किनेँ । ओदानचाहिँ वरिपरिका घरधनीहरुले बनाइदिनुभयो । चिम्टा पनि २ सय रुपैयाँ हालेर किनेँ ।
मकै बेच्दाको अनुभव के छ नि ?
मकै लिन जाँदा ४ वर्षअगाडि मोटरसाइकलले ठक्कर दियो । अस्पताल ल्याएपछि मात्र मलाई थाहा भयो । मलाई लडाएर हिँडेछ, भागिहालेछ । बिहानै थियो । कसैले नम्बर पनि टिपेन ।
हामी जस्तोलाई कसले हेर्छ र ? त्यही त हो नि । डेढ वर्षसम्म हातमा स्टिल राखियो । सु:ख त आफ्नो भाग्यमा नै छैन । कसलाई चो’र्नू ढाँट्नु नपरोस्, मिहिनेत गरेर खाएको छु । नगरी त भगवानले मुखमा हालिदिँदैनन् । आफ्नो हातले मिहिनेत त गर्नुपरो नि ।
तपाईँलाई नेताहरू कस्तो लाग्छ ?
आरीबाट कोइला घोप्ट्याउने, तीनै नेता हुन् ? यी नेताहरु यस्तै हुन् । आगो घोप्ट्याउन लगाउने यस्तै हो, यी नेता होइनन् त नगरपालिकाका ? मैले ठूलो गल्ती गरेको भए त हुन्थ्यो । म छेउ लागेर बसेको छु ।
मैले गल’त गरेको हो भने मलाई व्यवसाय गर्ने ठाउँ देखाइदिनुपरो । म जस्तोलाई फुटपाथमा पनि स्थान छैन । मैले बाटो रोकेर व्यवसाय गरेको पनि छैन । हिँड्न मज्जाले सक्छन् । मैले सडकभित्र गरेर बसेको छैन । डेरा बसेकै घर अगाडि बसेको छु ।
नेताहरुको नाम थाहा छ ?
यी नेताहरुको हामीलाई केही नै छैन । कागलाई बेल पाक्यो, हर्ष न विस्मात जस्तै हो । नेताहरुले केही नि गरेका छैनन् । मैले थाहा पाएकाहरु मरिसके । गिरिजा, सूर्यबहादुर थापा, मरिचमान चिन्थेँ ।
भोट हाल्न गाउँ जानु भएको छ कि छैन ?
भोट पनि हालेको छैन । किन हाल्नु भोट ? बहुदल आएको वर्षमा हालेको छु । केही गर्ने होइनन्, तिनीहरुलाई भोट हाल्न किन यहाँबाट धाईधाई जानु ?