काठमाडौँ –
दानाका लागि आवश्यक कच्चा पदार्थको मूल्य बढेको बहानामा व्यवसायीले जिउँदो ब्रोइलर कुखुराको भाउ फेरि बढाएका छन् ।
रुस र युक्रेनबीच जारी युद्धका कारण दानाको कच्चा पदार्थ महँगो भएको बताउँदै राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जिउँदो ब्रोइलर कुखुराको मूल्य प्रतिकिलो १० रुपैयाँ बढाएर २ सय ९० पुर्याएको छ ।
यसअघि संघले गत बुधबार मात्रै प्रतिकिलो १० रुपैयाँ बढाएको थियो । दानाको कच्चा पदार्थ मूल्य भारतमा बढेको र यहाँ पनि बढेर आएकाे भन्दै सोमबारबाट लागू हुनेगरी मूल्य फेरि बढाइएको हो ।
‘चारोको लागत अत्याधिक महँगो भएको छ, रुस-यु क्रे न यु द्ध ले कच्चा पदार्थको मूल्य अहिलेसम्मकै उच्च छ, दानाको मूल्य बढेको छ,’ संघका सचिव देव गिरीले भने,
‘प्रतिकिलो करिब ७० रुपैयाँ पर्ने पिना बढेर १ सय २० रुपैयाँ पुगेको छ । दानाका लागि चाहिने मकै, भटमास आयात हुन सकेको छैन । चक्र प्रणाली अवरुद्ध हुँदा महँगो भयो ।’
दानाबाहेक कुखुरालाई चाहिने भ्याक्सिनको मूल्य पनि १८ प्रतिशतले बढेको गिरीले बताए । यी बाहेक भारतमा पनि कुखुराको मूल्य बढेकाले यहाँ प्रभाव परेको उनको भनाइ छ ।
‘चौतर्फी मूल्य बढेकाले यसको पनि मूल्य बढ्यो,’ उनले भने, ‘उपभोक्तालाई महँगो परे पनि किसानलाई फाइदा पुगेको छ । जिउँदो ब्रोइलर कुखुराको मूल्य बढेसँगै तयारी मासुको मूल्य प्रतिकिलो ४ सय रुपैयाँ नाघेको छ ।’
यसअघि संघले माघ २३ गते पनि जिउँदो ब्रोइलरको मूल्य बढाएर २ सय ४० रुपैयाँ पुर्याएको थियो । त्यसपश्चात मूल्य निरन्तर बढेको बढ्यै छ ।
संघले फागुन ६ गते १० रुपैयाँ बढाएर २ सय ६० रुपैयाँ र फागुन १४ गते पुन: बढाएर २ सय ७० रुपैयाँ पुर्याएको थियो ।
फागुन १८ गते पुन: बढाएर २ सय ८० रुपैयाँ पुर्याएको थियो । अब भने सोमबारदेखि लागू हुनेगरी २ सय ९० रुपैयाँ तोकिएको हाे ।