काठमाडौँ –
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । भारतीय आयल कर्पोरेसन्सले पठाएको नयाँ मूल्यसूची अनुसार निगमले
बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्राेलियम पदार्थको मूल्य बढाएको हो । निगमकाअनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा पनि प्रतिलिटर ५ रुपैयाँ मूल्य बढेको छ ।
नयाँ मूल्य अनुसार उपत्यकामा अब पेट्रोल प्रतिलिटर १५० रुपैयाँ तथा डिजेल र मट्टितेल १३३ रुपैयाँ पर्नेछ । पेट्रोल तथा डिजेलको यो मूल्य अहिलेसम्मकै उच्च हो ।
यस्तै, निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ मूल्य बढाएको छ । अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनकाे मूल्य प्रतिकिलाेलिटर १ सय डलर बढेको छ ।
खाना पकाउने एलपी ग्यासको मूल्य भने हाललाई यथावत् राखिएको निगमले जनाएको छ । रुसले युक्रेनमाथि युद्ध सुरु गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढिरहेको छ ।
त्यसको असर नेपालमा पनि परेको हो । अन्तर्राष्ट्रय बजारमा कच्चा तेलको मूल्य बिहीबार प्रतिब्यारेल १ सय १७ डलरसम्म पुगेको थियो ।
त्यस्तै, डलरको बिनियम दर पनि बढेको छ । डलरको मूल्यले पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्यमा असर पार्छ । बिहीबार एक डलर बराबर १२१.४३ रुपैयाँ बिनिमयदर ताेकिएको छ।
यो पनि : नेकपा एमालेका नेता भीम रावल र नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटघाट भएको छ। बिहीबार बिहान नेता रावलको निवासमा उनीहरुबीच भेटघाट भएको हो।
महासचिव विप्लव पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई साथमा लिएर नेता रावललाई भेट्न गएका हुन्। भेटमा एमसीसी र राष्ट्रिय स्वाधीनता रक्षाको पक्षमा एकताबद्ध भएर संघर्ष गर्ने विषयमा छलफल भएको विप्लवको सचिवालयले जनाएको छ।
यसमा रावलले पनि सकारात्मक जवाफ दिएको सचिवालयको भनाइ छ। विप्लवले बुधबार माओवादी नेता नारायणकाजी श्रेष्ठ, नेकपा एसका नेता झलनाथ खनाल लगायतलाई समेत भेटेका थिए।
यो पनि : प्रतिनिधिसभाबाट एमसीसी सम्झौता व्याख्यात्मक घोषणासहित पारित गरेको विषयलाई लिएर नेकपा (माओवादी केन्द्र) भित्र
नेता नारायणकाजी श्रेष्ठको अस’न्तुष्टि बढेपछि उनले आफू पक्षधर केन्द्रीय सदस्यहरूको दुई दिनदेखि आन्तरिक बैठक गरिरहेका छन् ।
सोही विषयलाई लिएर श्रेष्ठले नयाँ पार्टी गठन गर्ने कि माओवादीभित्र अन्तरसंघ’र्ष गरेर जाने भन्ने विषयमा आफू पक्षधर केन्द्रीय सदस्यहरूसँग निरन्तर छलफल गर्दै आएका छन् ।
श्रेष्ठ पक्षका केन्द्रीय सदस्यहरूको हात्तीवनस्थित उनको निवासमा बिहीबार भेला चलिरहेको छ । दुई दिनदेखि श्रेष्ठले आफू पक्षधर केन्द्रीय सदस्यहरूसँग भेला गरिरहेका हुन् ।
श्रेष्ठ निकट माओवादीका एक केन्द्रीय सदस्यका अनुसार शुक्रबारदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा जाने कि नजाने ? केन्द्रीय
समितिमा जाँदा पार्टी सुधारका लागि कस्तो आफू पक्षबाट लिने दस्तावेज लिने भन्ने विषयमा श्रेष्ठ पक्षधरको छलफल भइरहेको छ ।
श्रेष्ठ पक्षका नेताहरूले भेलामा अध्यक्ष दाहालले एकलौटी निर्णय लिँदै गएको भन्दै नयाँ पार्टी गठन गर्नेसम्मको सुझाव आएका ती केन्द्रीय सदस्यले बताए ।
‘अध्यक्षले त्यसो भनिसकेपछि देशव्यापी रूपमा के हो कुरा ? भनेर चासो व्यक्त भइरहेका छन् । अध्यक्षले भित्रैदेखि भनेको हो र नयाँ पार्टी गठन गरेर जानुस् भन्ने नै उहाँको कुरा हो भने हे’पिएर बस्ने भन्ने कुरा हुँदैन,’ श्रेष्ठ निकट एक नेताले भने ।
पार्टीमा छलफल हुनु सामान्य भएको र पछिल्लो समय अध्यक्षको अभिव्यक्तिले अलि असहज भएको श्रेष्ठ पक्षका माओवादी केन्द्रीय सदस्य प्रकाश पोखरेलले बताए । ‘हामी छलफलको प्रक्रियामा छौं ।
हाम्रो पार्टी विभाजन गर्ने र फुटाउने कुरा होइन । राष्ट्रिय स्वाधीनताको कुरा सार्वजनिक रूपमा उठाउन पाउने व्यक्तिको कुरा हो ।
यो कुरा सार्वजनिक गरेबापत अध्यक्षले पार्टीबाट गएपनि हुन्छ, वामदेवको जस्तो हालत हुन्छ भनेकाले समया भएको हो,’ उनले भने, ‘अध्यक्षले कस्तो भूमिका निर्वाह गर्नुहुन्छ त्यसमा पार्टी एकता सुनिश्चित हुन्छ ।’
पार्टी केन्द्रीय समिति बैठकमा जाने कि नजाने भन्ने विषयमा छलफल चलेपनि शुक्रबारबाट सुरु हुने केन्द्रीय समिति बैठकमा जाने पक्षमा श्रेष्ठ छन् ।
पार्टी व्यक्तिको नभएकाले अध्यक्षको अभिव्यक्ति र एमसीसी पारित गर्ने विषयमा पार्टीले लिएको निर्णयबारे त्यहाँ छलफल गर्ने उनी निकट नेताहरूले बताएका छन् ।