काठमाडौं –
सत्तारूढ नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच अहिले (बुधबार बिहान) भेटवार्ता भइरहेकाे छ।
श्रेष्ठ निवास हरिसिद्दिमा दुई नेताबीच ५ मिनेट अघिदेखि छलफल भइरहेकाे हाे। प्रतिनिधि सभाबाट अमेरिकी सहायता सम्झाैता अनुमाेदनमा आफ्नो पार्टी पनि संलग्न भएपछि नेता श्रेष्ठ अध्यक्ष प्रचण्डसँग असन्तुष्ट छन्।
यसबीच प्रचण्डले श्रेष्ठबारे टिप्पणी गर्दै चित्त नबुझे पार्टी छाड्न पनि सकिने भनेका थिए। यहीबीच विप्लव पार्टी एकता गर्ने प्रस्ताव लिएर श्रेष्ठकहाँ पुगेकाे स्रोतले जनाएको छ।
यसअघि मंगलबार श्रेष्ठ फकाउन प्रचण्ड उनकाे निवास पुगेका थिए। श्रेष्ठले पूर्वएकता केन्द्र ब्युँताउने तयारी गरिरहेका बेला विप्लवले उनीसँग भेटवार्ता गरेका हुन्।
सुरुमा एमसीसी संशोधन र परिमार्जन नगरी संसदबाट अनुमोदन गर्न नहुने अडान लिइरहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सत्ता गठबन्धन जोगाउन र मुलुकलाई
पुनः प्रतिगनतिर जानबाट रोक्न भन्दै ‘व्याख्यात्मक घोषणा’सहित एमसीसी पारित गर्न सहमत भएका हुन्। सोही सहमतिअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले
सहकार्यका लागि एमालेसँग जारी वार्ता रोके भने गत आइतबार प्रतिनिधि सभाबाट एमसीसी बहुमतले पारित गराए। विप्लव नेतृत्वको नेकपालगायत ६ कम्युनिस्ट पार्टी र
दुई मोर्चाले एमसीसी खारेज गरिनुपर्ने माग राखेर संयुक्त रूपमा सडक आन्दोलनदेखि नेपाल बन्दसम्मका कार्यक्रम गरिरहेका छन्। एमसीसी अनुमोदन गरिएपछि विप्लवले पनि प्रचण्डको आलोचना गरिरहेका छन्।
यो पनि : सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसँग उनकै निवास पुगेर छलफल गरेका छन्।
आइतवार अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता माओवादीको समेत समर्थनमा संसदबाट पारित गरिएपछि तीव्र असन्तुष्टि जनाएका वरिष्ठ नेता श्रेष्ठसँग हरिसिद्धि पुगेर मंगलबार दिउँसो वार्ता गरेका हुन्।
एमसीसी पास गर्न नहुने पक्षमा रहेका श्रेष्ठबारेमा प्रचण्डले खुमलटारमै सोमबार आयोजित पत्रकार सम्मेलनमा छाडेर जानेलाई रोक्न नसकिने बताएका थिए।
अर्कातिर आइतवारै साँझ नारायणकाजीले माओवादीको समेत समर्थनमा एमसीसी पास भएपछि कालो दिन भन्दै चर्को वि”’रोध जनाएका थिए।
दुई नेताबीच परस्पर बाझिने कुरा सार्वजनिक भइरहेपछि माओवादी फुट्ने आशंकाबीच प्रचण्डले नारायणकाजीलाई फकाउन खोजेका हुन्।
प्रचण्डले नारायणकाजीकै निवास पुगेर माओवादी केन्द्रलाई एकतावद्ध बनाएर अघि बढ्न भनेका थिए।
‘अध्यक्ष प्रचण्डले पार्टीलाई एकतावद्ध बनाएर जाऊँ, विवादबारे पार्टीकै आन्तरिक बैठकमा छलफल गरौँ भन्नु भयो’, नारायणकाजीनिकट एक नेताले भने, ‘अध्यक्षले पार्टी एकता बचाइराख्न जरुरी भएको कुरा राख्दै फेरि पनि छलफल गर्न अनुरोध गर्नुभयो।’
सोमबार प्रचण्डको अभिव्यक्तिलाई लिएर आक्रोशित नारायणकाजीले आफूले पार्टी छाडेर जान नखोजेको जवाफ दिएका थिए।
‘मैले पार्टीबाट हट्ने, पार्टी छाड्ने कुरा गरेको होइन। तर तपाईंले नै छाडेर जा भन्नु भयो’, उनले प्रचण्डलाई भने, ‘तपाईंले नै वामदेव जसरी पार्टी छाडेर जानेलाई रोक्न नसकिने भनेपछि सोच्नुपर्ने अवस्था आयो।’
तर फेरि प्रचण्डले नारायणकाजीलाई फकाउँदै आफूले त्यसो नभनेको जवाफ दिएका थिए। ‘होइन, मैले त्यस्तो केही भनेको होइन।
अलग सन्दर्भलाई लिएर भनेको कुरा पार्टीको धारणा होइन’, प्रचण्डले भने, ‘अहिले हामी सबैले यताउता सोच्नु भन्दा पार्टी एकता जोगाएर हाम्रा मतभेदहरूबारे बैठकमा छलफल गरौँ, मन माझामाझ गरौँ।’
प्रचण्डले पार्टी छाड्ने कुरा नसोच्न आग्रह गर्दै फेरि पनि छलफलमा बस्न आग्रह गरेका थिए। यसबारेमा नारायणकाजीले आफूनिकट नेता कार्यकर्ताहरूलाई ब्रिफिङ गरेका छन्।
पार्टीमै बस्ने या नयाँ यात्रा थाल्ने कुराको निर्णय प्रचण्डसँग अर्को पटक हुने छलफलले निर्धारण गर्ने पनि उनले बताएका थिए।
‘प्रचण्डजीले फेरि बसौँ भन्नु भएको छ। अध्यक्ष कमरेडसँग दोस्रो चरणमा बसेपछि थप छलफल गरौँला’, उनले आफूनिकट नेताहरुलाई भने, ‘म एक पटक फेरि प्रचण्डसँग बस्छु अनि थप छलफल गरेर हामी निर्णयमा पुगौँला।’