काठमाडौँ –
बिजुली खरिद र बिक्री रकममा रहेको ठूलो अन्तर (मार्जिन) ले सरकारी कम्पनी नेपाल विद्युत् प्राधिकरणको वित्तीय स्वास्थ्य राम्रो बन्दै गएको छ ।
बिजुली प्रसारण, वितरण र व्यापारमा एकाधिकार कायम गरेको प्राधिकरणले उपभोक्तालाई महँगोमा बिजुली बेचेको भन्दै आलोचना समेत हुने गरेको छ ।
त्यसको कारण हो, उसले सस्तोमा बिजुली किनेर महँगोमा बेच्नु । इक्रा नेपालले सार्वजनिक गरेको प्राधिकरणको क्रेडिट रेटिङसम्बन्धी विवरणअनुसार बिजुलीको खरिद मूल्य र बिक्री मूल्यमा ठूलो
मार्जिन राखेर प्राधिकरणले नाफा कमाउँदै आएको छ । इक्राको विवरणअनुसार प्राधिकरणले सन् २०२१ मा निजी क्षेत्रबाट औसत ५ रुपैयाँ ८६ पैसामा
बिजुली किनेको थियो । नेपाल विद्युत् प्राधिकरणका आफ्नै आयोजनाबाट उत्पादित बिजुलीको उत्पादन लागत भने प्रतियुनिट ६७ पैसा बराबर मात्रै हो ।
त्यस्तै, भारतबाट प्रतियुनिट औसत ७ रुपैयाँ २२ पैसा बिजुली आयात गरेर बेचेको थियो । यसरी प्राधिकरणले सम्पूर्ण रुपमा औसत प्रतियुनिट ४ रुपैयाँ ८१ पैसामा बिजुली किनिरहेको छ ।
तर उसले बिक्री गरेको बिजुलीको औसत मूल्य भने प्रतियुनिट ९ रुपैयाँ ७४ पैसा बराबर छ । यसरी प्राधिकरणले एक युनिट बिजुलीको व्यापारमा ४ रुपैयाँ ८३ पैसा खुद नाफा कमाइरहेको छ ।
अहिले निजी क्षेत्रका आयोजनाहरुसँग प्राधिकरणले गर्ने विद्युत् खरिद सम्झौता (पीपीए) दर वर्षायाममा ४ रुपैयाँ ८० पैसा र सुख्खायाममा ८ रुपैयाँ ४० पैसा हो ।
प्राधिकरणले केही समयअघि आफ्नो अर्धवार्षिक वित्तीय विवरण सार्वजनिक गर्दै सरकारी संस्थानहरुमा सबैभन्दा बढी नाफा कमाएको दावीसमेत गरेको थियो ।
प्राधिकरणले चालु आर्थिक वर्ष २०७८/७९ को ६ महिना अवधिमा १२ अर्ब १२ करोड रुपैयाँ नाफा कमाएको जनाएको छ । नाफा बढेकोबारे प्राधिकरणका
कार्यकारी निर्देशक कुलमान घिसिङले चुहावट नियन्त्रण, भारततर्फ विद्युत् निर्यातको परिमाणमा भएको वृद्धि, विद्युत् आयातमा कमी,
विद्युत् बिक्रीमा वृद्धिलगायत कारण रहेको बताएका थिए । त्यस्तै पुसबाट लागू हुनेगरी समायोजन भएको महसुलका कारण चालु आर्थिक
वर्षको बाँकी अवधिमा आम्दानी घट्न सक्ने भएपनि यसवर्षको कुल नाफा १५ अर्ब रुपैयाँ भन्दा बढी हुने प्राधिकरणले बताउँदै आएको छ ।
नेपालको बिजुली निकै महँगो भएको र यसले औद्योगिक वस्तुको उत्पादन लागत बढाएको भन्दै आलोचना हुने गरेको छ । विद्युत्
नियमन आयोगको गत कात्तिक १० गतेको निर्णयअनुसार गत पुस महिनाबाट लागू हुनेगरी विद्युतको नयाँ महसुल लागू भएको छ ।
पहिलेको तुलनामा महसुल सामान्य घटेपनि अहिलेसमेत ग्राहकले प्रतियुनिट ९ रुपैयाँ ५० पैसा देखि ११ रुपैयाँ ५० पैसासम्म तिरिरहेका छन् ।