काठमाडौं –
सुरक्षाकर्मीहरूले लगाउने पोसाकलाई आवश्यक कपडा स्वदेशमै उत्पादन हुन थालेपछि बर्सेनि ठूलो रकम बिदेसिनबाट जोगिएको छ ।
वीरगन्जस्थित कोहिनूर टेक्सटाइल्स र क्राउन टेक्सटाइल्सले ४ महिनायता नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको पोसाकका लागि आवश्यक कपडा उत्पादन गरिरहेका छन् ।
सुरक्षाकर्मीको पोसाकको कपडा तथा तयारी पोसाकसमेत उत्पादन हुन थालेपछि तीनवटै सुरक्षा निकायका लागि चाहिने कपडा आयातबाट बर्सेनि बाहिरिने गरेको करिब ५० करोड रुपैयाँ रोकिएको हो ।
यसअघि यस्तो कपडा चीन तथा भारतबाट आयात हुने गरेको थियो । वीरगन्जस्थित दुवै कपडा उत्पादक उद्योगले सहकार्यमा चार महिनायता नेपाली सेनाको पोसाकका लागि ६ लाख मिटर कपडा,
सशस्त्र प्रहरीका लागि ७० हजार जोर तयारी पोसाक र नेपाल प्रहरीको पोसाकका २ लाख ७० हजार मिटर कपडा उत्पादन गरिरहेका छन् ।
यस वर्ष सुरक्षा निकायलाई कपडा र पोसाक उपलब्ध गराउने ठेक्का पाएको एडी सप्लायर/जय सलिना इन्टरप्राइजेज ज्वाइन्ट भेन्चर
कम्पनीले आफूहरूसँग पोसाकको कपडा किनिरहेको कोहिनूर टेक्सटाइल्सका सञ्चालक पीताम्बर मुन्काले जानकारी दिए ।
‘हामीले उत्पादन गरिरहेको कपडा र तयारी पोसाक ठेकेदार कम्पनीले किनिरहेकाले हामीलाई बजारको सम’स्या छैन,’ मुन्काले भने,
‘स्वदेशमा पहिलो पटक उत्पादन गरेको सुरक्षाकर्मीको चुस्तामा प्रयोग हुने कपडालाई बजारको सम’स्या नभएपछि हामी उत्साहित छौं, अब स्वदेशी सुरक्षाकर्मीले चीन र भारतमा उत्पादन हुने कपडाको चुस्ता लगाउनुपर्ने बाध्यता छैन ।’
१० वर्ष पुरानो आफ्नो उद्योगमा सुरक्षाकर्मीको पोसाक उत्पादन गर्न भनेर यस वर्ष ५ करोड रुपैयाँ लगानी थप गरेर प्रिन्टिङ मेसिन र लुप एजर उपकरण जडान गरेको मुन्काले बताए ।
यी उपकरण आएपछि ५० जना जति मजदुरले थप रोजगारी पाएको उनले जानकारी दिए । उद्योगमा अहिले तीन सय मजदुर कार्यरत रहेको उनको भनाइ छ ।
नयाँ प्लान्टमा प्रयोग हुने डाइज, केमिकल, धागोलगायत कच्चा पदार्थ भने भारतबाट आयात गरिरहेको क्राउन टेक्सटाइल्सका सञ्चालक
राजेशकुमार कुशवाहाले जनाए । कपडा उत्पादनपछि दुई सय प्रतिशत ‘भ्यालु एड’ गरी आफ्नो उत्पादन बजारमा बिक्री गरिरहेको उनी बताउँछन् ।
उद्योगले निकट भविष्यमै विद्यार्थी, निजामती कर्मचारीका पोसाक र सर्टिङ–सुटिङको कपडा तथा महिलाका अन्य पोसाकसमेत उत्पादन गर्ने तयारी गरिरहेको उनको भनाइ छ ।