चितवन – भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व अब भरतपुर महानगरपालिकाले लिने बताएकी छन् ।
मेयर दाहालले धुर्मुस–सुन्तली फाउण्डेसनले दिएको आर्थिक र प्राविधिक प्रतिवेदनको सरकारी पक्षबाट मूल्यांकन गरिसकेपछि रंगशालाको स्वामित्व भरतपुर महानगरपालिकाले लिने बताएकी हुन् ।
आइतबार भरतपुरस्थित आफ्नै कार्यालयमा न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै मेयर दाहालले धुर्मुस–सुन्तली फाउण्डेसनले आफूलाई १७ करोड ऋण लागिसकेको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट पनि
सोचेअनुरुपको सहयोग प्राप्त नभएकोले महानगरलाई स्वामित्व लिन आग्रह गरेको जानकारी दिइन् । महानगरले अब रंगशालाका लागि काम अघि बढाउने उनले बताइन् ।
मेयर दाहालले सरकार जिम्मेवारीबाट पन्छिन नमिल्ने भन्दै रंगशाला बनाउँदा लागेको ऋण र बहुवर्षीय योजनाअनुसार काम अघि बढाउन संघीय सरकारलाई आग्रह गर्ने पनि बताइन् ।
मेयर दाहालले भनिन्, ‘हामीले प्रक्रिया अघि बढाइसकेका छौँ । हुन त हाम्रो सम्झौताअनुसार महानगरपालिकाले जग्गा उपलब्ध गराउने, त्यो खालको वातावरण निर्माण गरिदिने र श्रोत जुटाएर निर्माण सम्पन्न गर्ने, दायित्व धुर्मस सुन्तली फाउण्डेशनको हो ।’
महानगरले आन्तरिक आयबाट पनि बजेट विनियोजन गरेर हस्तान्तरण गरेको भन्दै उनले लगभग १० करोड बजेट महानगरको आन्तरिक बजेटबाट उपलब्ध गराएको बताइन् ।
‘महायज्ञ धनधान्याञ्चल आयोजना गरेर पनि सहयोग गरेका हौँ । १८-२० करोडको बजेट फाउण्डेशनलाई उपलब्ध गराएको हो,’ उनले भनिन्, ‘उहाँहरुले १७ करोड ऋण लागिसक्यो, गर्न सक्ने स्थिति भएन
भनेपछि ऋण लगाएर गर्ने कुरा भएन । उहाँहरुले हामीले श्रोत जुटाउन सकेनौँ, त्यसकारण महानगरपालिकाले स्वामित्व ग्रहण गरिदिनुपर्छ भनेर आग्रह गरेर हामीलाई पत्र पनि दिनुभयो ।’
मेयर दाहालले चितवन राजनीतिको केन्द्रबिन्दु बन्नुको पछाडि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) रहेको दाबी गरिन् । उनले देश शान्तिप्रक्रिया यता प्रचण्डकै वरिपरि रहेको र देशका हरेक समस्याको समाधान अध्यक्ष प्रचण्डबाटै भएको बताइन् ।
उहाँले प्रचण्ड चितवनको जनप्रतिनिधि बनेपछि छोटो समयमै जिल्लाको कायापलट भएको उल्लेख गर्दै महानगरको विकास र शीर्षस्थ नेतृत्वको कारण जिल्लाले छोटो समयावधिमै विकास निर्माणका कामलाई गति दिएको बताइन् ।
‘प्रचण्ड यहाँको नभइ अन्यत्र जिल्लाको प्रतिनिधि हुँदा चितवनको अवस्था के थियो ? त्यो आकर्षण चितवनमा थिएन,’ उनले भनिन्, ‘अध्यक्ष कमरेड चितवन जिल्लाबाट जब जनप्रतिनिधिको रुपमा आउनु भयो ।
तब यो छोटो अवधिमा चितवनको चर्चा, परिचर्चा कस्तो छ ? राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा, आम सबै हिसावले । अहिले हरेक गतिविधि राजधानी काठमाडौं भन्दा पनि चितवन केन्द्रित छन् ।’
उनले चितवन जिल्ला व्यवसायिक, आर्थिक केन्द्रको रुपमा, मेडिकल सिटीको रुपमा, शैक्षिक हबको रुपमा, उत्पादनको केन्द्रको रुपमा, कृषि हबको रुपमा स्थापित भई दुध, माछामा आत्मनिर्भर बनेको बताइन् ।
मेयर दाहालले आफ्नो साढे ४ वर्षको कार्यकालमा जनताले सोचेको र जनतासँग बाचा गरेभन्दा धेरै काम गरेको दाबी गरिन् ।
मेयर दाहालले भनिन्, ‘साढे ४ वर्षमा ५३ काम भनेको संक्षिप्त हो । हामीले ५३ दुना काम गरेका छौँ । महानगरपालिकाले राष्ट्रिय गौरवका आयोजनाहरु, महानगर गौरवका आयोजनाहरु, सडक पूर्वाधार,
भौतिक पूर्वाधारहरु, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, समग्र क्षेत्र, सुशासनको क्षेत्र, रोजगारी सिर्जना लगायतका क्षेत्रमा महानगरपालिकाले विकासको सन्तुलित मोडल र खाका अनुसार हामी अघि बढेका छौँ ।’
महानगरपालिकाका १६ वटा वडा कार्यालय भवन निर्माण भएको उनले बताइन् । शिक्षाको क्षेत्रमा विद्यालय भवन, विद्यालयको भौतिक पूर्वाधार, शैक्षिक गुणस्तरका योजनाहरु बनेको भन्दै उनले तीन वर्षको
तथ्यांक अनुसार महानगरपालिकामा सामुदायिक विद्यालयमा विद्यार्थी संख्या भर्ना दर साढे ६ हजार बढाउन सफल भएको उल्लेख गरिन् ।
‘चितवन जिल्लाले शीर्षस्थ नेतृत्व, राजनेता अध्यक्ष कमरेड प्रचण्ड पाएको छ । योभन्दा अघि शीर्षस्थ नेता नपाएकोले हिजोको दिनमा मध्यभागमा भएर पनि
चितवन जिल्लाको विकास सोचेअनुरुप भएको थिएन,’ उनले भनिन्, ‘साढे तीन वर्षको अवधिमा लगभग कायापलट हुने हिसावले विकास भएको छ ।’
नारायणी तटबन्धका योजना, सिक्स लेन सडक, फोर लेन सडक, हुलाक सडकका योजनाहरु यी सबै योजना सजिलै नआएको उनको भनाइ थियो । ‘सजिलै हुन्थ्यो भने हिजो पनि हुन्थ्यो ।
हिजो पनि निर्वाचन भएको थियो, प्रतिनिधि हुन्थे,’ उनले भनिन्, ‘मन्त्री भए, प्रधानमन्त्री समेत भए । तत्कालीन अवस्थामा चितवन क्षेत्र नम्बर ४ बाट जितेर सुशील
कोइराला प्रधानमन्त्री बन्नुभयो । तर हामीले दृढशक्तिका साथ काम गरेका छौँ । शीर्षस्थ नेता पाएका छौँ । चितवन जिल्लाको लागि कमरेड प्रचण्ड आवश्यक हो ।’
मेयर दाहालले आफ्नो कार्यकालमा महानगरमा ३ अर्ब ७० करोडको खानेपानी योजना र ६१० किलोमिटर सडक निर्माण भएको बताइन् । उनले महानगरको
५ वर्षे कार्यकालमा निजी विद्यालयबाट १० हजार विद्यार्थीहरुलाई सरकारी विद्यालयमा भर्ना गराउने योजना भएको र त्यसअनुसार सफल भइरहेको बताइन् ।