काठमाण्डाै – माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले लगातार दोस्रोपटक जित हासिल गरेको छ ।  

माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा सोमबार राति भएको आफ्नो दोस्रो खेलमा नेपालले श्रलंकालाई ३–२ गोल अन्तरले हराएको हो । 

नेपालको जितमा सुमन लामा, अञ्जन विष्ट र आयुष घलानले एक/एक गोल गरे । श्रीलङ्काका मार्भिन ह्यामिल्टन र डिलोन डी सिल्भाले एक/एक गोल फर्काए । नेपालका सुमन लामाले खेलको ३३ औं मिनेटमा गोल गरी सुरुवाती अग्रता दिलाएका थिए । 

त्यस्तै ५१ औं मिनेटमा अञ्जन विष्टले गोल गरेपछि नेपालले २–० को अग्रता बनायो । तर, श्रीलङ्काका ह्यामिल्टनले ५७ औं मिनेटमा एक गोल फर्काए । परिवर्तित खेलाडीको रुपमा मैदान छिरेका आयुष घलानले खेलको ८६ औं मिनेटमा गोल गरेपछि नेपालले ३–१ को अग्रता बनायो ।

खेलको इञ्जुरी समयमा श्रीलङ्काका डी सिल्भाले पेनाल्टीमा एक गोल गरेका थिए । यो जितपछि नेपाल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । नेपालले  २  खेलमा ६ अंक जोडेको छ । पहिलो खेलमा नेपालले माल्दिभ्सलाई १–० ले हराएको थियो ।

अहिजे जारी साफ च्याम्पियनसिपमा श्रीलंकाको भने यो दोस्रो हार हो। पहिलो खेलमा श्रीलंका बंगलादेशसँग १–० ले हारेको थियो।

सन् १९८४ देखि यता श्रीलंकाविरुद्ध नेपालको यो चौथो जित हो। यस अवधिमा भएका १७ खेलमा यसअघि नेपालले श्रीलंकालाई तीनपटक मात्र हराएको थियो।

By admin