काठमाडौं – पाकिस्तानका पूर्वक्रिकेट कप्तान शाहीद अफ्रिदीले नेपाली क्रिकेट टीमलाई पाकिस्तान लगेर क्रिकेट खेलाउन पहल गर्ने बताएका छन् ।

काठमाडौंमा आइतबार न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा अफ्रिदीले नेपाल र पाकिस्तानका जनतालाई जोड्न क्रिकेट कुटनीति आवश्यक रहेको बताए ।

उनले आफूले नेपाली क्रिकेट टिमलाई पाकिस्तानमा बोलाएर क्रिकेट खेलाउन पहल गर्ने बताए । अफ्रिदी एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेट प्रतियोगिता खेल्न नेपाल आएका हुन्। उनी काठमाडौं किंग्स ११ मा आबद्ध छन् । 

शनिबार भएको उद्घाटन खेलमा अफ्रिदीले काठमाडौंका लागि बलिङ गरेका थिए। त्रिवि मैदानमा चार ओभर बलिङ गरे पनि उनले विकेट लिन भने सकेनन् ।  अफ्रिदीले क्रिकेटकै माध्यमबाट नेपाल र पाकिस्तानको सम्बन्ध अझ बलियो बनाउन सकिने बताए ।

कुनै समय पाकिस्तानको १९ वर्ष मुनिको टिमलाई नेपाली टिमले हराएको प्रसंग उल्लेख गर्दै अफ्रिदीले नेपाली क्रिकेट टिमलाई आफूले सक्दो सहयोग गर्ने बताए । 

‘म यहाँ रहँदा जति मानिसहरुसँग भेट भयो मेरो लागि अविश्मरणीय रह्यो । नेपाल र पाकिस्तानलाई क्रिकेट कुटनीतिले जोड्न चाहन्छु । पाकिस्तान पुगेर मैले नेपाली टोलीलाई खेल्न आमन्त्रण गर्छु । यसलाई नेपालस्थित पाकिस्तान दूतावास र नेपाल सरकारले सहजीकरण गर्नेछन्’ उनले भने ।

आफूले केही नेपाली खेल अधिकारीलाई पाकिस्तान भ्रमणको निम्तो दिएको पनि बताए । ‘तीन दिनको बसाइको क्रममा नेपालीहरुमा क्रिकेट प्रतिको लगाव निकै पाएको छु । क्रिकेटसँगको लगाव सँगैसँगै पाकिस्तानी क्रिकेट टोलीलाई माया गर्ने नेपालीहरु पाएको छु’

उनले भने, ‘मैले केही नेपाली खेल अधिकारीहरुलाई पाकिस्तान भ्रमणको निम्तो दिएको छु । म पाकिस्तान पुगेर उहाँहरुलाई स्वागत गर्नेछु ।’ नेपाली क्रिकेटको विकासका लागि तल्लो तह ग्रास रुट लेबलदेखि ध्यान दिनुपर्ने अफ्रिदीले बताए ।

त्यसका लागि सहयोग गर्नुपर्ने उनको भनाइ छ । ‘सरकारको सहयोग मिलेको अवस्थामा क्रिकेट एकेडेमी सञ्चालन गर्न सम्भव हुन्छ, खेलाडीहरुलाई सुविधा मिल्छ । सबै भन्दा राम्रो पक्ष भनेको नेपाल सरकार क्रिकेट प्रति सकारात्मक छ’ उनले भने ।

By admin