काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई उनीपक्षीय सांसदहरुले धेरै अलमलमा नबस्न सुझाव दिएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदहरुसँग बुधबार नेता नेपालले छलफल गरेका थिए । त्यस क्रममा सांसदहरुले अब धेरै अलमलमा बस्न नहुने सुझाव दिएका छन् ।

‘वारपार गरौं । धेरै अलमल गरेर हुँदैन भन्ने हाम्रो कुरा हो’, सांसद पावर्ती बिशुंखेले भनिन् । पार्टी एकता गरेपनि र नगरेपनि चाँडो टुंग्याउन सुझाव दिएको उनले बताइन् । सकेसम्म पार्टी एकतालाई प्राथमिकतामा राख्न सुझाव दिएको अर्का सांसद भवानी खापुङले बताए ।

‘पार्टी एकता हुन्छ वा हुन्न भन्ने कुरा अध्यक्ष केपी शर्मा ओलीमै भर पर्छ । तर एकता अगाडि हाम्रो शर्त पूरा हुनुपर्छ भन्नेमा एकमत भयौं’, उनले भने । सांसदहरुको सुझाव सुनेपछि नेता नेपालले भने अरु नेताहरुसँग पनि कुरा गरेर निर्णय लिने बताए । ‘केन्द्रीय कमिटीमा पनि यसबारे छलफल हुन्छ । सवैको सुझाव सुनिरहेको छु’, नेता नेपालले भने ।

सहभागी सांसदहरुका अनुसार, माधव नेपालले एकता वा विभाजनबारे ठोस कुरा केही पनि राखेनन् । ‘छलफल चलिरहेको छ । तपाईंहरुको सुझाव मानेरै अगाडि बढ्छु भन्नुभएको छ’, सांसद खापुङले भने । नेता नेपालले आफू निकट स्थायी कमिटी, जनसंगठन, सांसद सहित नेताहरु अलगअलग छलफल गरिरहेका छन् ।

यस्तै आफू निकट नेताहरुसँग नेता नेपालले अध्यक्ष ओलीको ‘आममाफी’ दिने अभिव्यक्ति जिब्रो चिप्लिएर मात्रै नआएको बताए । ‘आममाफी जिब्रो चिप्लिएर निस्किएको होइन, त्यहाँ अहंकार झल्कन्छ,’ नेता नेपालको निष्कर्ष छ ।

आफू एकताको विपक्षमा नरहेको, तर पार्टीमा सबैले सम्मानको अनुभूति गर्ने वातावरण बन्नुपर्ने उनले बताएका छन् । ‘अहंकारविरुद्ध अर्धविद्रोह गरेका हौं । पूर्ण विद्रोह भएको छैन,’ माधव नेपाल भन्छन्, ‘पूर्ण विद्रोह भनेको पार्टी विभाजन हो । एकताको पक्षमा उभिएकाहरु विभाजनमा जानु बाध्यता हो ।’

आफू पार्टी एकताको निम्ति उभिएको उनले बताएका छन् । ‘२८ फागुनमा केपी ओलीले हामी सबैलाई सामूहिक रुपमा निष्कासन गर्ने निर्णय गरेको हो । तर हामीले अर्धविद्रोह मात्रै गर्यौं, अलग पार्टी बनाएनौं,’ नेपालको भनाइ छ ।

By admin