काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गर्ने सर्वोच्च अदालतको २३ फागुनको फैसलापछि नेकपा एमालेतिर लाग्दा प्रतिनिधिसभा सदस्यबाट पदमुक्त भएका चार पूर्व माओवादी नेता सर्वोच्च अदालत गएका छन् ।

माओवादी त्यागेर एमालेमा प्रवेश गरेको करिब चार महिनापछि चार पूर्वमाओवादी नेताहरुले आफूहरु माओवादी सांसद भएको दाबी सहित उक्त पदबाट आफूहरुलाई बञ्चित नगर्न बिहीबार सर्वोच्च अदालत गुहारेका छन् ।

२६ चैतको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उनीहरु पदमुक्त भएको घोषणा गरेका थिए । त्यसअघि माओवादी केन्द्रले दल त्याग गरेको भन्दै राजनीतिक दलसम्बन्धी ऐनअनुसार सांसद पदबाट हटाउन सूचना दिएको थियो ।

लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु शाह र गौरीशंकर चौधरीले सामूहिक रुपमा सर्वोच्चमा दायर गरेको रिटमा केन्द्रीय कमिटीबाट निर्णय नगरी अध्यक्षको एकल निर्णयका आधारमा सांसद पदमुक्त गर्ने निर्णय भएको र त्यसलाई निर्वाचन आयोगले सदर गर्नु गैरसंवैधानिक भएको दाबी निवेदनमा गरेका छन् ।

सांसदको हैसियत फर्काउन सर्वोच्चमा उनीहरु पुगेसँगै नेकपा माओवादी केन्द्रसहित एमालेमा पनि फेरि एक पटक तरंग उत्पन्न भएको छ।

उनीहरु हाल आएर किन सर्वोच्च पुगे त? नेकपा माओवादी केन्द्रका एक स्थायी कमिटी सदस्यले पहिले मन्त्रीमा टिकिरहन, मन्त्री बन्न उनीहरु एमालेमा प्रवेश गर्नु, अहिले सांसद पद पाउन माओवादीमै रहेको दाबी गर्नु हास्यास्पद र लाजमर्दो विषय भएको बताए।

लेखराज भट्ट ओली ‘क्याबिनेट’मा सुरुदेखि नै थिए। ओली र तत्कालीन नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच फाटो आएकै बेला भट्ले प्रचण्डलाई ‘स्वार्थी र अवसरवादी’ नेताको आरोप लगाउँदै उनले ओली कित्ता रोज्ने स्पष्ट संकेत दिएका थिए।

By admin