नै पनि सरकारी सेवामा प्रवेश गरेपछि निश्चित समयपश्चात बढुवा हुने आशा सबैलाई हुन्छ । प्रहरी कर्मचारीको हकमा पनि यस्तो आशा नहुने कुरै भएन ।

प्रहरी निरीक्षक (इन्स्पेक्टर)मा भर्ना भएका सबैको इच्छा प्रहरी महानिरीक्षक (आईजीपी) बन्ने र त्यो नभए एआईजी वा डीआईजीसम्म पुग्ने हुन्छ ।तल्ला तह अर्थात् जवान र प्रहरी सहायक निरीक्षकमा भर्ना हुनेहरू पनि सकेसम्म माथि पुगेर रिटायर्ड हुन चाहन्छन् ।

एउटै संगठन, एउटै नीति नियम तर, प्रहरीमा सबैको यो इच्छा समान रूपले पूरा हुने वातावरण भने बन्न सकेको छैन । माथिल्ला तहमा दरबन्दी खाली नहुँदा थप गरेर भएपनि बर्सेनि बढुवा भइरहेको छ, तर तल्लो तहका प्रहरी कर्मचारीहरू भने १५ वर्षदेखि एउटै पदमा छन् । प्रहरी जवान, प्रहरी हवल्दार, प्रहरी सहायक निरीक्षक (असई)मा कार्यरत २० हजारभन्दा धेरै प्रहरी कर्मचारीहरू बढुवा नहुँदा निराश छन् ।

ड्युटीमा सबैभन्दा धेरै खटिनुपर्ने तल्लो तहका प्रहरी कर्मचारीहरू नै बढी अन्यायमा पर्दै आएको अवस्था छ । माथिल्लो तहमा दरबन्दी थप गरेर बढुवा गर्दै जाने तर तल्लो तहमा भने बढुवाका लागि योग्य हुँदा पनि आलटाल गर्ने काम भइरहेको पूर्व प्रहरी अधिकारीहरू नै बताउँछन् । ‘तल्लो तहका प्रहरी कर्मचारी २०६३ सालदेखि अहिलेसम्म बढुवा हुन पाएका छैन ।

१५ वर्ष भयो, अब रिटायर्ड हुन धेरै बाँकी छैन,’ एक प्रहरी जवानले लोकान्तरसँग भने, ‘केही नभए पनि रिटायर्ड हुँदा हवल्दार हुन पाए हुन्थ्यो भन्ने चाहना हो, तर खै हुने देखिँदैन ।’ प्रहरीमा बढुवाका लागि योग्य र कुनै पनि कारवाहीमा नपरेका करीब १८ हजार जवानहरू बढुवाको प्रतीक्षामा छन् । यस्तै करीब ४ हजारभन्दा धेरै प्रहरी हवल्दारहरू असईमा बढुवाको प्रतीक्षामा छन् ।

प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार २०६७ यता ३० हजार ५०९ जना प्रहरी जवान भर्ना भएका छन् । त्यसमध्ये २२ हजार ३९८ जनाको मात्र बढुवा भएको छ । बाँकी बढुवाको प्रतिक्षामा छन् । २०६३ यता भर्ना भएका तर बढुवा हुन नपाएकाहरूको कुल संख्या करीब १८ हजार छ ।

प्रहरीमा हाल ४६ हजार २१९ जवानको दरबन्दी छ । हाल प्रहरी हवल्दारको दरबन्दी ९ हजार ६८९ छ । करीब ४ हजार हवल्दार बढुवाका लागि योग्य भएर प्रतिक्षामा छन् । प्रहरी नियमावली २०७३ को नियम (२७) (च) बमोजिम बढुवा सिफारिस समितिले सिफारिस गरेपछि (२८) (ख) बमोजिम बढुवा हुने व्यवस्था छ ।

संगठन संरचनाले गर्दा बढुवा नपाएका हुन् : प्रहरी प्रवक्ता 

प्रहरी चेनअफ कमान्डमा चल्ने संगठन हो । यसको संगठन संरचना पिरामिड शैलीको भएका कारणले माथिल्लो तहमा छिटोछिटो बढुवा हुने र तल्लो तहमा लामो समयसम्म बढुवा नहुने समस्या रहेको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त कुवँरले बताए ।

‘संगठन संरचना नै पिरामिड शैलीको छ, त्यसले गर्दा तल्लो तहमा धेरै कर्मचारीको दरबन्दी र माथिल्लो तहमा थोरै कर्मचारीको दरबन्दी हुने भएकाले लामो समयसम्म तल्लो तहका कर्मचारीको बढुवा हुन नपाएको हो,’ प्रवक्ता कुँवरले लोकान्तरसँग भने, ‘माथिल्लो पदमा छिटोछिटो दरबन्दी रिक्त पनि हुन्छ, तर तल्लो अलिकति कम खाली हुने भएकाले यस्तो देखिएको हो । संगठन संरचनाका आधारमा यसलाई स्वाभाविक मान्नुपर्छ ।’

तल्लो तहका कर्मचारीहरूमा देखिएको निराशा समाधान गर्नका लागि प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा पहल गरिरहेको प्रवक्ता कुँवरले बताए । पछिल्लो समय आईजीपी शैलेश थापा क्षेत्रीको पहलमा लामो समयदेखि नबढेको प्रहरीको रासन भत्ता वृद्धि भएको थियो । प्रहरी जवानहरूको निराशालाई कम गर्न गृह मन्त्रालयसँग समन्वय गरी थप पहल भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

नेतालाई प्रभावमा पार्दै माथिल्लो तहमा बर्सेनि बढुवा

प्रहरी संगठनमा माथिल्लो तहमा पुगेका प्रहरी अधिकृतहरू सरकारमा आएका राजनीतिक नेतृत्वलाई प्रभाव पार्दै बढुवा हुने गरेका छन् । 

कुनै समयमा दरबन्दी थप गरेर १५ जनासम्म प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पुगेका थिए । २०७४ साल फागुन ३ गतेभन्दा अगाडि नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा प्रधानमन्त्री र आईजीपी प्रकाश अर्याल हुँदा प्रहरी अधिकृतको दाउपेचमा १५ जना एआईजी भएका थिए भने १६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) बनाइएको थियो ।

त्यसपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन आईजीपी सर्वेन्द्र खनालका पालामा एआईजीको दरबन्दी घटाएर ३ जनामा झारिएको थियो । तर फेरि पछिल्लो समय निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले डीआईजीद्वय विश्वराज पोखरेल र सहकुल थापालाई एआईजीमा बढुवा गर्न एक–एक गरी एआईजीको दरबन्दी थप गर्‍यो ।

असार १० गते मन्त्रिपरिषद्को बैठकले कार्य एवं अपराध अनुसन्धान विभाग विभाजन गरी एआईजीको दरबन्दी थप गर्ने निर्णय गरेको थियो ।असार १४ गते गृह मन्त्रालयले नयाँ पद सिर्जना भएअनुसार डीआईजी सहकुल थापालाई एआईजीमा बढुवा गर्ने सिफारिश गरेको थियो । ३ वर्षको अवधिमा सहकुल थापा ३ तह बढुवा भएर एसपीबाट एआईजी भइसकेका छन् । 

२०७५ जेठ ३ गते सहकुल थापा एसएसपी भएका थिए । त्यसको २२ महिनामा २०७६ चैत २८ मा डीआईजी भए । त्यसको १५ महिनामा २०७८ असार २७ गते उनले एआईजीको फूली लगाए । यसैगरी एआईजी विश्वराज पोखरेलको पनि बढुवा भएको थियो । २०७४ साउन १९ गते विश्वराज पोखरेल एसपीबाट एसएसपीमा बढुवा भएका थिए ।

त्यसको २२ महिनामै २०७६ वैशाख १९ गते डीआईजी भए । त्यसको बीस महिना अर्थात् २०७७ मंसिरमा दरबन्दी थप गरेर उनलाई एआईजी बनाइयो । माथिल्ला तहमा यसरी भटाभट बढुवा भइरहँदा तल्ला तहमा बढुवा जाममा परेको छ । कतिपय त भर्ती भएकै पदबाट रिटायर्ड हुनुपर्ने बाध्यतामा छन् ।

राजनीतिक हस्तक्षेपले बिग्रियो प्रहरी– आत्मराम पाण्डे, पूर्व गृहसचिव

प्रहरीलाई प्रत्यक्ष निगरानी गर्ने निकाय गृह मन्त्रालय हो । गृह प्रशासन सञ्चालन गर्ने संयन्त्र राज्य भएकाले प्रहरीमा राजनीतिक हस्तक्षेप हुन्छ । प्रहरी संगठनको करियर प्लान (भविष्य योजना), योजना बनाउने, राम्रो वृति विकास गर्ने र प्रहरी राम्रो बनाउने अभ्यास भएको नदेखिने १६ वर्ष गृह प्रशासनमा रहेर काम गरेका पूर्वसचिव आत्मराम पाण्डे बताउँछन् ।

‘प्रहरी संगठनलाई गृह मन्त्रालयले सञ्चालन गर्ने भएकाले प्रत्यक्ष हस्तक्षेपका कारणले करियर प्लान राम्रो हुन सकेको छैन,’ पूर्व गृहसचिव पाण्डेले लोकान्तरसँग भने, ‘प्रहरी संगठनमा हुने विकास राजनीतिक नेतृत्वले नबुझ्दा करियर प्लान हुन नसकेको हो ।’

प्रहरीमा राजनीतिक हस्तक्षेप बहुदल आएपछि बढेको उनले बताए । यसमा हालका प्रधानमन्त्री शेरबहादुर देउवाको पनि भूमिका रहेको उनको आरोप छ । ‘आफ्नो मान्छे नभए ३० वर्षे सेवा अवधि लगाएर सेवा निवृत्त गराउने र आफ्ना मान्छे भए समय बढाउनका लागि ३२ वर्षे सेवा अवधि बनाउने खालका कामहरू पनि हिजो भएका हुन्,’ पाण्डेले भने, ‘यस्ता खालका राजनैतिक हस्तक्षेपले गर्दा प्रहरी संगठन चुरचुर भएको छ ।’

शेरबहादुरकै पालामा अच्युत खरेल र ध्रुव प्रधानको विषयलाई लिएर पनि प्रहरी संगठनमा ‘डिजास्टर’ भएको उनले सुनाए । राजनीतिक स्वार्थका लागि बिल्कुलै फरक संगठन गुप्तचर विभागका कर्मचारी प्रहरीमा लैजाँदा संगठन अस्तव्यस्त भएको उनले बताए ।

प्रहरी संगठनलाई राजनीतिक स्वार्थका लागि प्रयोग गरिएको र स्वतन्त्र रूपमा संगठनको स्वभाव र महत्त्वअनुसार काम गर्न नदिएका कारण वृत्ति विकासमा असर पुगेको उनको बुझाइ छ । ‘जहिले पनि राजनीतिक स्वार्थ साँध्ने काम भयो । प्रहरीको करियर प्लानका बारेमा कसैको ध्यान गएको छैन,’ उनले लोकान्तरसँग भने ।

यस्तै समस्या सशस्त्र प्रहरीमा पनि रहेको र नेपाली सेनाले भने केही हदसम्म म्यानेज गरेको उनले बताए । तल्ला तहका प्रहरी कर्मचारीको आत्मबल बढाउन उनका केही सुझाव छन् । ‘सबैभन्दा पहिला त उनीहरूले दैनिक रूपमा प्रयोग गर्ने लत्ताकपडा, खानपान र बस्ने ठाउँमा राम्रो व्यवस्था गर्नुपर्ने देखिन्छ,’ पूर्वसचिव पाण्डेले भने, ‘अझै पनि यस्ता कुरामा ध्यान दिने हो भने प्रहरी कर्मचारीको मनोबल बढाउन सकिन्छ ।’

तल्लो तहलाई नेतृत्वले नै हेर्नुपर्छ– पूर्व एआईजी ढकाल

संगठनको वृत्ति विकास सबै तहका कर्मचारीको उत्तिकै महत्वपूर्ण हुन्छ । त्यसमा तल्लो तह र माथिल्लो तह दुवै व्यक्तिगत रूपमा बराबर मात्रामा जोडिने पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) नवराज ढकालले बताए ।  ‘संगठनको अधिकांश काम तल्लो तहका कर्मचारीले गर्दछन् । तल्लो तहका कर्मचारी संख्यात्मक रूपमा पनि धेरै हुन्छन् ।

उनीहरूलाई प्राथामिकतामा राखेर योजना बनाउनुपर्छ,’ पूर्व एआईजी ढकालले लोकान्तरसँग भने, ‘वृत्ति विकासमा ध्यान दिइएन भने उनीहरूले जनतालाई दिने सेवा प्रवाहमा प्रत्यक्ष असर पर्छ ।’  प्रहरी संगठनको माथिल्लो तहमा सरकारको चासो र चलखेल हुने तर, तल्ला तहमा खासै ध्यान नदिने गरेको पाइएको उनले बताए ।

यस विषयमा संगठनको नेतृत्वले नै सोच्नुपर्ने उनको भनाइ छ । तल्लो तहका कर्मचारीको वृत्ति विकास कहिले हुन्छ, कुन तहसम्म पुगिन्छ, भन्ने कुरा पनि निर्क्यौल गर्ने गरी योजना बनाउनुपर्ने उनले बताए । प्रहरीको नेतृत्व, गृह प्रशासन तथा राजनीतिक नेतृत्व कसैले पनि तल्ला तहका प्रहरी कर्मचारीप्रति ध्यान दिएको देखिँदैन । लोकतन्त्रबाट सभार

By admin