काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र अमिरकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केन ब्लिन्केनबीच मंगलबार टेलिफोन वार्ता भएको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग प्रधानमन्त्री देउवाले अमेरिकासँग को’भिड–१९ विरुद्धको थप खोप सहयोग गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री देउवाका प्रेस सहयोगी गोविन्द्र परियारले भने ‘प्रधानमन्त्रीले खोपलाई प्राथमिकता दिँदै थप सहयोगका लागि आग्रह गर्नुभएको छ । साथै, उहाँले अनुदान र खरिद दुवै प्रक्रियामा खोप ल्याउन नेपाल तयार रहेको प्रस्ट पार्नुभएको छ,’  ।

परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा देउवाले अमेरिकी सरकारसँग बालबालिका र किशोरकिशोरीका लागि आवश्यक खोप सहयोगका लागि आग्रह गरेका जनाइएको छ । कुराकानीका क्रममा प्रधानमन्त्री र विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र सहकार्यका विषयमा पनि छलफल भएको जनाइएको छ ।

त्यसका साथै उनीहरूबीच नेपालको विकासका प्राथमिकता, अमेरिकाको सहकार्य र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विषयमा पनि कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री देउवा र विदेशमन्त्री ब्लिन्केनले जलवायु परिवर्तन र यसको असरका विषयमा समेत कुराकानी गरेका थिए । देउवाले ब्लिन्केनमार्फत अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई र शुभकामना दिँदै मिलेर काम गर्ने इच्छा रहेको सन्देश पठाएका जनाइएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनीहरूबीच करिब १० मिनेट कुराकानी भएको थियो ।

देउवा प्रधानमन्त्री भएको दुई साता भइसके पनि अमेरिकी विदेशमन्त्री ब्लिन्केनले बधाई दिन र संवाद गर्न वासिङ्टन डीसीभन्दा नयाँदिल्लीलाई रोजेका छन् । विदेशमन्त्री ब्लिन्केन हाल भारत भ्रमणमा रहेका छन् ।

By admin