नेपालले आफ्नो फुटबल इतिहासमै सबैभन्दा महत्त्वपूर्ण खेलमा बुधबार बंगलादेशको सामना गर्दैछ । त्यसमा जित अथवा बराबरीको नतिजामा नेपाल साफ च्याम्पियनसिप २०२१ को फाइनल पुग्नेछ ।

पराजित रहेमा नेपाल प्रतियोगिताबाट बाहिरिनेछ । यसको ठीक अगाडि मंगलबार आयोजित प्रेस मिटमा नेपाली प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी आएनन् ।

किन त ? नेपाली टिमले दिएको जानकारीअनुसार अहिले तत्काल उनी प्रशिक्षणमा ब्यस्त छन् । त्यो भनेको नेपाली टिमले बान्डोस टापुमा दिउँसो अभ्यास गरेको छ । बिहीबार हुने खेल दिउँसो मालेको स्थानीय समयअनुसार ४ बजे हुनेछ र त्यसअनुसार खेलाडीलाई अभ्यस्त राख्न प्रशिक्षण भएको हो ।

तर यो उनको माइन्ड गेम पनि हुन सक्छ र उनी यस्तै यस्तै काम गर्न सिपालु छन् । उनको स्थानमा प्रेस मिटमा सहायक प्रशिक्षक किरण श्रेष्ठ र गोलरक्षक विशाल श्रेष्ठ आए । त्यसमा दुवैले खासै बोलेनन् ।

किरणले भने, ‘हामी बंगलादेशविरुद्ध जित्न नै खेल्नेछौं । खेलको रणनीति बताउने तय गर्ने जिम्मा मुख्य प्रशिक्षकको हो ।’ अनि विशालले भने, टिममा सबै खेलाडी ठीक मानसिकतामा छन् र सबै बंगलादेशविरुद्ध जित निकाल्न चाहन्छन् ।

प्रेस मिनेटमा बंगलादेशका मुख्य प्रशिक्षक ओस्कार ब्रुनोज र कप्तान जमल भुया नै आए, विशेषत: स्पेनी प्रशिक्षकले सटिक बोले । उनले बंगलादेश होइन, नेपाल दबाबमा हुने दाबी गरे ।

उनले भने, ‘मेरो हिसाबमा सबै दबाब नेपाली टिममै हुनेछ, किनभने नेपाललाई कसरी खेल्ने हो, त्यसमा दुविधा हुन सक्छ । नेपाललाई फाइनल पुग्न जित भए पनि हुन्छ, बराबरी भए पनि हुन्छ, त्यसैले टिमले कसरी खेल्ने हो, त्यसमा अन्योलता हुनेछ । तर हामी स्पष्ट छौं, हामीलाई भोलि स्पष्ट जित आवश्यक छ, त्यसैले हामी सुरुदेखि आक्रामक भएर खेल्नेछौं ।’

By admin